वीरगंज / भारतको महावाणिज्य दूतावास, वीरगञ्जद्वारा विश्व हिन्दी दिवस–२०२६ को अवसरमा आइतबार एक भव्य कार्यक्रमको आयोजना गरिएको छ। कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीहरूका लागि भाषण तथा कविता प्रतियोगिता आयोजना गरिएको थियो भने शास्त्र कला केन्द्र, रक्सौलद्वारा आकर्षक सांस्कृतिक प्रस्तुति प्रस्तुत गरिएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै भारतका महावाणिज्य दूत श्री देवी सहाय मीना ले हिन्दी भाषाको विश्वव्यापी महत्व र भारत–नेपालबीचको ऐतिहासिक, सांस्कृतिक सम्बन्ध सुदृढ बनाउन यसको भूमिकाबारे प्रकाश पार्नुभयो। उहाँले विश्व हिन्दी दिवसको अवसरमा भारतीय प्रधानमन्त्री श्री नरेन्द्र मोदीको सन्देश पनि वाचन गर्नुभयो, जसमा हिन्दी भाषा र संस्कृतिलाई विश्वस्तरमा प्रवर्द्धन गर्ने भारत सरकारको प्रतिबद्धता उल्लेख गरिएको थियो।
कार्यक्रममा सहभागी विभिन्न विद्यालयका विद्यार्थीहरूले भारत र नेपालबीच युगौँदेखि कायम धार्मिक, सामाजिक तथा सांस्कृतिक सम्बन्धको महत्व विषयमा आयोजित भाषण तथा स्व–रचित कविता प्रतियोगितामा उत्साहपूर्वक सहभागिता जनाउँदै आफ्ना भाषिक क्षमता र सिर्जनशीलता प्रस्तुत गरे।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई महावाणिज्य दूत श्री मीना ले पुरस्कार वितरण गर्नुभयो। कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको जनाउँदै महावाणिज्य दूतावासले यस क्षेत्रमै हिन्दी भाषा तथा संस्कृतिको प्रवर्द्धनप्रति आफ्नो प्रतिबद्धता पुनः दोहोर्याएको छ।

कार्यक्रममा शैक्षिक संस्था, उद्योग तथा वाणिज्य क्षेत्रका प्रतिनिधि, भारत–नेपाल मैत्री संघका पदाधिकारी तथा हिन्दीप्रेमीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।








