वीरगंजमा राप्रपाद्वारा ३०४औँ पृथ्वीनारायण शाह जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस भव्य रूपमा सम्पन्न

 

अभिलाष गुप्ता

वीरगंज/ २७ पौष

 

वीरगंज — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को आयोजनामा आज ३०४औँ पृथ्वीनारायण शाह जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा वीरगंजमा भव्य कार्यक्रम सम्पन्न भएको छ।

 

कार्यक्रम अन्तर्गत माइस्थानमा भेला भएका राप्रपाका नेता–कार्यकर्ताहरूले र्‍यालीसहित घण्टाघर पुगेर राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको तस्वीरमा फूलमाला र अबिर अर्पण गर्दै श्रद्धाञ्जली व्यक्त गरेका थिए। त्यसपछि आयोजित सभामा विभिन्न नेताहरूले आफ्ना मन्तव्य राखेका थिए।

कार्यक्रममा राप्रपाका संस्थापक अध्यक्ष श्री रामबहादुर थापाले पृथ्वीनारायण शाहले एकीकरणमार्फत आधुनिक नेपालको जग बसालेको उल्लेख गर्दै राष्ट्रिय एकता, पहिचान र सार्वभौमसत्ताको संरक्षण आज झनै आवश्यक भएको बताए।

 

सभामा पार्टीका केन्द्रीय सदस्यहरू गण अंगद ठाकुर, प्रदीप सुवेदी, बिना जैसवालले राष्ट्रिय एकता दिवसलाई केवल औपचारिकतामा सीमित नराखी व्यवहारमा उतार्नुपर्नेमा जोड दिए। राप्रपा पर्साका जिल्ला सभापति सुमेश्वरनाथ उपाध्यायले पार्टीको संगठन विस्तार र राष्ट्रवादी विचारधारालाई जनस्तरसम्म पुर्‍याउने प्रतिबद्धता व्यक्त गरे।

 

उपसभापति मनोज मिश्रा, जगरनाथ प्रसाद कुर्मी, सचिव पन्नालाल पटेल, पार्टी प्रवक्ता शम्भु घिमिरे, वरिष्ठ नेता अरुण श्रेष्ठ, मीरा झा, रमिता माया गुप्ता, राज प्रताप सिंह, क्षेत्रीय सभापति अर्जुन सिंह ठकुरी, अनिल कुशवाहा, विनय झा, चन्दन मिश्रा, नवीन प्रसाद यादवलगायतका नेताहरूले पनि पृथ्वीनारायण शाहको योगदान, राष्ट्रिय एकता र वर्तमान राजनीतिक अवस्थाबारे आफ्ना धारणा राखेका थिए।

 

कार्यक्रममा पर्सा जिल्ला क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभा सदस्यका प्रत्याशी तथा युवा लोकप्रिय नेता बरुण चौरसियाले युवाहरूले इतिहास, संस्कृति र राष्ट्रवादी मूल्यलाई आत्मसात् गर्दै देश र समाजको हितका लागि अग्रसर हुनुपर्ने बताए। उनले राष्ट्रनिर्माताको विचार आज पनि उत्तिकै सान्दर्भिक रहेको उल्लेख गर्दै राष्ट्रिय हितका मुद्दामा सबै एकजुट हुनुपर्नेमा जोड दिए।कार्यक्रममा राप्रपाका नेता–कार्यकर्ता तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो।

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित