पवन प्रसाद साह
वीरगंज। नेपाल राष्ट्रवाद संघले वीरगंजमा राष्ट्रनिर्माता श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको “३०४ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस” को भव्यरूपमा मनाएको छ।
संघका केन्द्रीय अध्यक्ष जनकलाल शाहको अध्यक्षतामा आयोजित कार्यक्रममा स्थानीय नागरिक, युवा, विद्यार्थी तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरुको उपस्थितिमा
कार्यक्रम वीरगंजको घण्टाघर चोकबाट सुरु भई माइस्थान, महाविरस्थान, आदर्शनगर, अलखियामठ, पुरानो बसपार्क, घडिअर्वा पोखरी हुँदै पुनः घण्टाघरमा आइ कोणसभामा परिणत भएको थियो। र्यालीका क्रममा सहभागीहरूले ढोल–बाजासहित “राजा आउ देश बचाउ”, “हिन्दु राष्ट्र कायम गर”, “धर्मनिरपेक्ष खारेज गर”, “संघीयता खारेज गर” तथा “गणतन्त्र धोका हो” लगायतका नाराहरू लगाएका थिए।
कोणसभालाई सम्बोधन गर्दै केन्द्रीय अध्यक्ष जनकलाल शाहले जनताले गणतन्त्र मागेको नभई नेताहरूले मात्र मागेको दाबी गरे। उनले गणतन्त्र ल्याएपछि नेताहरूले देशलाई खोकलो बनाएको र विदेशी शक्तिको इसारामा देश सञ्चालन भइरहेको कारण मुलुक यस्तो अवस्थामा पुगेको बताए। त्यसैले देश जोगाउन राजसंस्थाको आवश्यकता रहेको उनको भनाइ थियो।
त्यसैगरी कोणसभामा बोल्दै जि.बि.स. पर्साका पूर्व सभापति शम्भु प्रसाद चौरसियाले देश अमेरिकी डलरको भरमा चलेको आरोप लगाए। नेताहरूले देशलाई कमजोर बनाएकै कारण विदेशीको भरमा शासन चलिरहेको भन्दै उनले राजतन्त्र आए मात्र आर्थिक अवस्था सुधार हुने र युवाहरू तथा किसानहरूले रोजगारीका अवसर पाउने दाबी गरे।
कार्यक्रमलाई सम्बोधन गर्दै विश्व हिन्दु महासंघ नेपालका केन्द्रीय सदस्य पृथ्वी झाले देशमा लोकतन्त्र नभई “लुटतन्त्र” चलेको आरोप लगाए। उनले गणतन्त्रपछि धर्मनिरपेक्षता लागू गरिँदा हिन्दु–मुस्लिमबीच द्वन्द्व सिर्जना गरिएको दाबी गर्दै देशमा हिन्दु राष्ट्र र राजसंस्थाको आवश्यकता रहेको बताए।
उक्त कार्यक्रममा नेपाल राष्ट्रवाद संघ पर्सा जिल्ला अध्यक्ष संगीता देवी शाहसहित उमाशंकर प्रसाद, पृथ्वी झा, शम्भु प्रसाद चौरसिया, सन्तोष गुप्ता, विष्णु कुमार दास, पवन प्रसाद साह, चुलाइ मियाँ, विरेन्द्र साह, राधाकृष्ण चौहान, मदन ठाकुर, हरेराम रौनियार, धुरेन्द्र पटेल, उदित सहनी, दिपेन्द्र रौनियार, बिरेन्द्र थापा, रामनारायण साह, शिवसंकर साह, अच्छेलाल साह, राजेश पटेल, प्रभु साहलगायतको सहभागिता रहेको थियो।
वक्ताहरूले पृथ्वीनारायण शाहको योगदान स्मरण गर्दै राष्ट्रिय एकता, स्वाधीनता, धर्म–संस्कृतिको संरक्षण र देशको भविष्यका लागि सबै नेपाली एकजुट हुनुपर्नेमा जोड दिएका थिए।
नेपाल राष्ट्रवाद संघले वीरगंजमा आयोजित यस कार्यक्रमले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको महत्व स्थानीय स्तरमा प्रभावकारी रुपमा उजागर गरेको जनाएको छ।









