पोखरियामा प्रादेशिक अस्पतालको संयुक्त उद्घाटन, सेवा–सुविधा विस्तारको प्रतिबद्धता

 

पोखरिया (पर्सा), २६ पौष — पर्सा जिल्लाको पोखरिया नगरपालिका वडा नम्बर ४ मा अवस्थित प्रादेशिक अस्पताल पोखरियाको मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णा प्रसाद यादव तथा स्वास्थ्य तथा जनसंख्या मन्त्री जंगी लाल रायले संयुक्त रूपमा एक कार्यक्रमबीच उद्घाटन गरेका छन्।

 

उद्घाटन कार्यक्रममा प्रादेशिक अस्पताल पोखरियाका मेडिकल सुपरिटेन्डेन्ट डा. आनन्द रौनियारले अस्पतालमा उपलब्ध सेवा–सुविधा, उपचार प्रक्रिया तथा भावी आवश्यकताबारे जानकारी गराउँदै बिरामी उपचारका लागि आवश्यक उपकरण, औषधि, प्रयोगशाला सामग्री र जनशक्तिको मागसहितको प्रतिवेदन मुख्यमन्त्री यादवलाई हस्तान्तरण गरे।

 

कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री यादवले पोखरिया अस्पताललाई छिट्टै उन्नति र प्रगतिको दिशामा अघि बढाइने विश्वास व्यक्त गरे। मधेश प्रदेशमा कार्यरत चिकित्सकहरूलाई दरबन्दी भएका स्थानमै पठाउन मन्त्रालयका सचिवलाई निर्देशन दिइसकेको उल्लेख गर्दै अटेरी गरे कारबाही गरिने चेतावनी दिए। उनले अस्पतालका लागि आवश्यक भौतिक संरचना, उपचार उपकरण, ल्याब केमिकल तथा जनशक्ति यथाशीघ्र व्यवस्थापन गरिने आश्वासन पनि दिए।

 

पोखरिया नगरपालिकाका नगरप्रमुख प्रद्युमन प्रसाद चौहानले अस्पतालको उन्नति–प्रगतिको कामना गर्दै कर्मचारी व्यवस्थापनलगायत विकासका विषयमा प्रदेश सरकारको ध्यानाकर्षण गराए। उनले स्थानीय सरकारले सक्दो सहयोग गरिरहेको र आगामी दिनमा पनि निरन्तर सहयोग रहने प्रतिबद्धता जनाए। पोखरियाको समग्र विकास र अस्पतालको प्रगतिको लागि सर्वपक्षीय सहयोग आवश्यक रहेको र सहयोग प्राप्त हुनेमा आफू विश्वस्त रहेको बताए।

 

कार्यक्रममा पोखरियास्थित १२ बिघा ऐलानी जग्गामा रंगशाला निर्माण तथा वडा नम्बर ४ मा रहेको विशाल हनुमान मन्दिरलाई पर्यटकीय स्थलका रूपमा विकास गर्न बजेटको मागसम्बन्धी प्रस्तावहरू पूर्व मेयर दीप नारायण रौनियारलगायत वक्ताहरूले उठाएका थिए। विनियोजित बजेट न्यून भएको भन्दै ध्यानाकर्षण पत्रसमेत बुझाइएको थियो।

 

प्रादेशिक अस्पताल विकास समिति अध्यक्ष उमेश प्रसाद चौहानको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा विशिष्ट अतिथिका रूपमा भूमि व्यवस्था तथा कृषि मन्त्री श्याम पटेल, वन तथा वातावरण मन्त्री शंकर प्रसाद चौधरी, पर्व मन्त्री जनार्दन सिंह क्षेत्री, पूर्व मन्त्रीहरू, पूर्व सांसदहरू, प्रदेश सांसदहरू, विभिन्न राजनीतिक दलका प्रतिनिधि, सुरक्षा निकायका प्रमुखहरू तथा सामाजिक संघ–संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

 

कार्यक्रममा पोखरिया नगरपालिकाका वडा अध्यक्ष, पूर्व वडा अध्यक्ष, कार्यपालिका सदस्य, बुद्धिजीवी, युवा, सञ्चारकर्मी, अस्पतालका कर्मचारी तथा स्थानीयवासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रमको सहजीकरण शिव पटेलले गरेका थिए।

 

समापन मन्तव्यमा विकास समिति अध्यक्ष चौहानले प्रदेश सरकारले दिएको जिम्मेवारी इमानदारीपूर्वक बहन गर्दै पोखरिया अस्पतालको प्रगतिका लागि प्रदेश सरकारसँग हक अधिकारका लागि संघर्ष गर्ने प्रतिबद्धता व्यक्त गर्दै सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरे।

सम्बन्धित