ब्लड क्यान्सर पीडित उमेश महतोका लागि मानवीय सहयोग

रौतहट । मधेश प्रदेशअन्तर्गत रौतहट जिल्लाको राजदेवी नगरपालिका–५, हजमिनिया दरबार निवासी श्री फेकन महतोका २४ वर्षीय छोरा उमेश महतो विगत करिब डेढ वर्षदेखि ब्लड क्यान्सर (रक्त क्यान्सर) जस्तो गम्भीर रोगबाट पीडित भई उपचाररत छन्। लामो समयदेखि जारी उपचारका कारण उनको स्वास्थ्य अवस्था हाल अत्यन्तै नाजुक बनेको छ।

 

उपचारका क्रममा परिवारले आफ्नो स्वामित्वमा रहेको घडेरीसमेत धितो राखी ऋण लिएर हालसम्म करिब ७ लाख रुपैयाँभन्दा बढी खर्च गरिसकेको छ। तर उपचार निरन्तर जारी राख्न अझै करिब ४ लाख रुपैयाँ बराबरको आर्थिक अभाव रहेको परिवारले जनाएको छ।

यही कठिन परिस्थितिलाई मध्यनजर गर्दै वीरगञ्जका सामाजिक अभियन्ता प्रकाश थारूको पहलमा तथा हेल्प मधेशी नेपाल मलेसिया (सेरेम्बान दलान) का सहयोगी साथीहरूको सहयोगमा उमेश महतोको घरमै पुगेर २४ हजार ५ सय रुपैयाँ नगद सहयोग हस्तान्तरण गरिएको छ।

 

हाल उमेश महतो अत्यन्तै पीडादायी अवस्थाबाट गुज्रिरहेका छन्। कमजोर आर्थिक अवस्थाका कारण थप उपचारमा समस्या भइरहेको भन्दै परिवारले सबै सहयोगी मन, संघ–संस्था तथा सरोकारवाला निकायहरूसँग सहयोगका लागि हार्दिक अपील गरेका छन्।

 

पीडितका आमाले संघ, प्रदेश तथा स्थानीय सरकारका निकाय हुँदाहुँदै पनि हालसम्म कुनै पनि सरकारी निकायबाट सहयोग प्राप्त नभएको भन्दै गहिरो दुःख व्यक्त गर्नुभएको छ।

 

सहयोग हस्तान्तरण कार्यक्रममा सामाजिक अभियन्ता प्रकाश थारू, कन्हैया पटेल, पत्रकार सन्जय कुमार सहनी, समाजसेवी नवीन कुमार सिंहलगायतको उपस्थिति रहेको थियो। उपस्थित सबैले मानवीय सहयोग र सामाजिक सद्भावको उदाहरण प्रस्तुत गरेका छन्।

 

सम्बन्धित