रौतहट / नेपाल डेन्टल हाइजिनिस्ट एसोसिएसनका केन्द्रीय उपाध्यक्ष तथा मधेश प्रदेश अध्यक्ष दिलिप कुमार यादव रौतहट क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तर्फबाट उम्मेदवार बन्ने सम्भावनाले स्थानीय जनतामा उत्साहको वातावरण सिर्जना भएको छ।
स्वास्थ्यकर्मीको रूपमा लामो समयदेखि सेवा गर्दै आउनुभएका यादव युवा समाजसेवीका रूपमा समेत परिचित हुनुहुन्छ। उहाँले स्वास्थ्य सचेतना, दन्त स्वास्थ्य प्रवर्द्धन, निःशुल्क स्वास्थ्य शिविर तथा सामाजिक सेवाका विभिन्न कार्यक्रममार्फत रौतहटका ग्रामीण तथा शहरी क्षेत्रका नागरिकहरूसँग प्रत्यक्ष रूपमा जोडिँदै आउनुभएको छ।
रौतहट–१ का स्थानीयवासीहरूका अनुसार यादवको सरल स्वभाव, जनमैत्री व्यवहार र सेवामूलक कार्यशैलीले उहाँप्रति विश्वास बढ्दै गएको छ। युवामाझ लोकप्रिय यादवले स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राखेर सामाजिक रूपान्तरणमा योगदान पुर्याउँदै आउनुभएको बताइन्छ।
राष्ट्रिय स्वतन्त्र पार्टीले अघि सारेको सुशासन, पारदर्शिता र जनमुखी राजनीतिका एजेन्डासँग दिलिप कुमार यादवको सामाजिक र व्यावसायिक पृष्ठभूमि मेल खाने स्थानीय विश्लेषकहरूको भनाइ छ। स्वास्थ्य क्षेत्रबाट राजनीतिमा आउने नेतृत्वले जनताको दैनिक समस्यालाई नजिकबाट बुझ्ने र प्रभावकारी ढंगले सम्बोधन गर्ने अपेक्षा गरिएको छ।
यद्यपि उम्मेदवारीबारे पार्टीको औपचारिक निर्णय आउन बाँकी रहे पनि यादवको सम्भावित उम्मेदवारीले नै रौतहट क्षेत्र नम्बर १ मा रास्वपाप्रति आकर्षण र चासो बढाएको देखिन्छ। स्थानीय स्तरमा उहाँलाई परिवर्तनको संवाहकका रूपमा हेरिन थालिएको छ।









