बारा/ नेकपा (एमाले) बारा जिल्ला सचिवालयको सातौँ बैठकले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि जिल्लाका चारवटै निर्वाचन क्षेत्रबाट क्षेत्रीय कमिटीले सिफारिस गरेका नामहरूलाई औपचारिक रूपमा स्वीकृत गर्दै प्रदेश कमिटीमा पठाउने महत्त्वपूर्ण निर्णय गरेको छ।
क्षेत्रीय कमिटी क्षेत्र नम्बर ३ ले पूर्वमन्त्री एवं निवर्तमान सांसद ज्वाला कुमारी साहको नाम ‘बाइकट’ गर्दै सिफारिस नगरे पनि जिल्ला सचिवालय बैठकले विशेष निर्णयमार्फत साहको नाम समावेश गरी पठाएको छ।
जिल्ला अध्यक्ष अदानन्द पाण्डेद्वारा हस्ताक्षरित निर्णय अनुसार सचिवालयले साहका अतिरिक्त गायत्री देवी, सिता सुवेदी, टिना सुवेदी, प्रतिमा यादव, रविन्द्र दास वनिया र फुलेना राउत अहिर गरी ७ जना थप इच्छुक नेताहरूको नाम समेत समेटेर कुल ४१ जनाको नामावली प्रदेश कमिटीमा पठाएको हो।
यसअघि क्षेत्र नं. १ बाट अच्युतप्रसाद मैनाली र पुरुषोत्तम पौडेलसहित ७ जना, क्षेत्र नं. २ बाट बलवीरप्रसाद चौधरी र अमरदेवप्रसाद यादवसहित ८ जना, क्षेत्र नं. ३ बाट अदानन्द पाण्डेसहित ३ जना र क्षेत्र नं. ४ बाट कृष्णकुमार श्रेष्ठ (किसान) र सीता गुरुङसहित ३ जनाको नाम क्षेत्रीय स्तरबाट सिफारिस भएको थियो।
संगठनात्मक योगदान र समावेशितालाई मुख्य आधार बनाइएको यो सिफारिसले जिल्लाभित्रको आन्तरिक शक्ति सन्तुलन मिलाउँदै चुनावी रणनीतिलाई थप मजबुत बनाउने र ११औँ महाधिवेशनबाट निर्वाचित नयाँ नेतृत्वलाई थप उत्साहित बनाउने अपेक्षा पार्टीले लिएको छ।









