वीरगंज / वार्डकप नकआउट क्रिकेट प्रतियोगिताको पहिलो खेलमा वीरगंज महानगरपालिका वडा नं. २ छपकैयाका क्रिकेट खेलाडीहरूले शानदार विजय हासिल गरेका छन्। उक्त विजयको अवसरमा विजेता खेलाडीहरूको सम्मानमा एक विशेष कार्यक्रमको आयोजना गरिएको थियो।
कार्यक्रममा वीरगंज महानगरपालिका वडा नं. २ का वडा अध्यक्ष मोहम्मद रियाजले खेलाडीहरूको मनोबल उच्च राख्दै गमछा र फूलको माला लगाई सम्मान गर्नुभयो। खेलाडीहरूको उत्कृष्ट प्रदर्शनको प्रशंसा गर्दै उहाँले आगामी दिनमा पनि अझ राम्रो प्रदर्शन गर्ने विश्वास व्यक्त गर्नुभयो।

खेलाडीहरूको सम्मान कार्यक्रममा छपकैया बासीहरू हर्षित भएका थिए। “मेरो टोलका भाइहरूले क्रिकेटमा उत्कृष्ट प्रदर्शन गर्दै जित हासिल गरेका छन्, यसका लागि म हृदयदेखि धन्यवाद दिन चाहन्छु। भविष्यमा छपकैयालाई खेलकुदमार्फत देश–विदेशमा चिनाउने विश्वास छ। यो जित केवल खेलाडीहरूको मात्र नभई सम्पूर्ण छपकैया बासीहरूको जित हो,” वडा अध्यक्ष रियाज मियाँले भन्नुभयो। साथै उहाँले खेलाडीहरूको उज्ज्वल भविष्यको कामना पनि गर्नुभयो।
स्थानीय बासीहरूले खेलाडीहरूको हौसला बढाउने वडा अध्यक्षको कदमको खुलेर प्रशंसा गरेका छन्। सम्मानबाट उत्साहित खेलाडीहरूले यस्तो निरन्तर सहयोग र हौसलाले आफूहरू अझ राम्रो खेल प्रदर्शन गर्न प्रेरित हुने बताएका छन्। छपकैया बासीहरूलाई कहिल्यै निराश नबनाउने र छपकैयाको नाम देश मात्र होइन, विदेशसम्म चिनाउने प्रतिबद्धता खेलाडीहरूले व्यक्त गरेका छन्।
खेलाडीहरूले छपकैया बासीहरू तथा वडा अध्यक्षबाट प्राप्त माया, स्नेह र सम्मानप्रति हार्दिक धन्यवाद दिँदै खुशी व्यक्त गरेका छन्।









