अभिलाष गुप्ता
वीरगंज, २० पुस
हरियाली र वातावरण संरक्षणप्रति जनचेतना फैलाउने उद्देश्यले वीरगंज महानगरपालिका, सशस्त्र प्रहरी बल तथा ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरको संयुक्त आयोजनामा बीरगंजमा वृहत वृक्षारोपण तथा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रमले वीरगंजलाई स्वच्छ, हराभरा तथा वातावरणमैत्री सहर बनाउने दीर्घकालीन अभियानलाई थप सशक्त बनाएको आयोजकहरूले बताएका छन्। वृक्षारोपणमार्फत वातावरण संरक्षण गर्नुका साथै भावी पुस्ताका लागि स्वस्थ जीवनशैलीको आधार तयार पार्ने लक्ष्य लिइएको छ।

कार्यक्रमको अध्यक्षता वीरगंज महानगरपालिकाका सरसफाइ तथा हरियाली संयोजक एवं ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरका अध्यक्ष प्रकाश खेतानले गर्नुभएको थियो। प्रमुख अतिथिका रूपमा सशस्त्र प्रहरी बलका एसपी पुरन चन्द भट्ट र डीएसपी पुरुषोत्तम भण्डारी सहभागी रहनुभएको थियो।
कार्यक्रममा बोल्दै अध्यक्ष खेतानले हरियाली बिना जीवन असम्भव रहेको उल्लेख गर्दै आज रोपिएका बिरुवाहरूले भोलिका पुस्ताका लागि स्वच्छ हावा, स्वस्थ वातावरण र सुरक्षित भविष्य सुनिश्चित गर्ने बताउनुभयो। साथै बीरगंजलाई हराभरा र सुन्दर सहर बनाउने अभियानमा सबै नागरिकको सक्रिय सहभागिता आवश्यक रहेको उहाँको भनाइ थियो।
कार्यक्रममा सामुदायिक प्रहरीका पदाधिकारी, स्वयंसेवक, स्थानीय नागरिक तथा रक्सौल सीमा सुरक्षा बल (एसएसबी) ४७औँ बटालियनका डीसी दीपक कुमार, नवीन कुमार, एसी उत्तम घोष, इन्स्पेक्टर घारी राम, विशम्भर दास तथा एसआई लोकेन्द्र शर्मालगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमको अन्त्यमा सहभागी सबैलाई रोपिएका बिरुवाको संरक्षण र नियमित हेरचाह गर्न आग्रह गर्दै यस्ता वातावरणमैत्री गतिविधिलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिएको थियो।









