दिपश कुमकर साह
रौतहट । नेकपा एमालेले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि रौतहट निर्वाचन क्षेत्र नम्बर–३ बाट पार्टीका केन्द्रीय सदस्य कुन्दन कुशवाहाको नाम एकल रूपमा सिफारिस गरेको छ।
शनिबार गुजरा नगरपालिकामा सम्पन्न क्षेत्रीय कार्यकर्ता भेलाले प्रत्यक्षतर्फ कुशवाहालाई उम्मेदवार बनाउने निर्णय गरेको हो। भेलामा सहभागी स्थानीय तहका जनप्रतिनिधि, वडा प्रतिनिधि तथा क्षेत्रीय समितिका सदस्यहरूले कुशवाहाको नेतृत्व क्षमता र क्षेत्रप्रतिको जिम्मेवारीलाई मूल्याङ्कन गर्दै सर्वसम्मत रूपमा सिफारिस गरेका हुन्।
क्षेत्रीय संयोजक युवराज ज्ञवालीका अनुसार भेलाले कुशवाहालाई सक्षम र लोकप्रिय नेता ठहर गर्दै उम्मेदवारको रूपमा अघि सारेको हो। सिफारिस कार्यक्रममा मधेस प्रदेशका सांसद केशव राय चौधरी, पूर्व मन्त्री नागेन्द्र यादव, देवाही गोनाही नगरपालिकाका मेयर प्रेमलाल साहलगायत नेताहरूको उपस्थिति रहेको थियो।
कुन्दन कुशवाहा तत्कालीन कटहरिया गाविसका अध्यक्ष जादोलाल महतोका जेठा छोरा हुन्। उनी २०७४ सालको निर्वाचनमा माओवादी केन्द्रबाट प्रदेश सांसद निर्वाचित भएका थिए भने २०७९ मा प्रभु साह समूहबाट स्वतन्त्र उम्मेदवार बनेर निर्वाचनमा पराजित भएका थिए।
गत वर्ष मात्र आम जनता पार्टी परित्याग गरी एमाले प्रवेश गरेका कुशवाहा यसपटक पार्टीभित्र सर्वसम्मत रूपमा सिफारिस हुन सफल भएका छन्।









