पर्सा–३ मा छोटेलाल प्रसाद यादव प्रतिनिधिसभा उम्मेदवार घोषित, जनसमर्थन बढ्दो

रंजय कुमार यादव

वीरगंज /१९ पुस

नेपाली कम्युनिस्ट पार्टीले पर्सा निर्वाचन क्षेत्र नम्बर–३ का लागि छोटेलाल प्रसाद यादवलाई प्रतिनिधिसभा सदस्यका प्रत्यक्ष उम्मेदवारका रूपमा औपचारिक घोषणा गरेको छ। लामो समयदेखि क्षेत्रमा सक्रिय रहँदै आएका यादव जनस्तरमा लोकप्रिय नेता मानिन्छन्।

 

यादवको विशेष पहल र सक्रिय भूमिकामा पछिल्ला समयमा पर्साका विभिन्न स्थानका पूर्व सांसद, मेयर तथा स्थानीय जनप्रतिनिधीसहित हजारौँ कार्यकर्ताहरू नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरिसकेका छन्। पार्टी विस्तारमा उहाँको योगदानलाई ‘निर्णायक भूमिका’ का रूपमा हेरिएको छ।

 

स्थानीय बासिन्दाहरूका अनुसार यादव क्षेत्रका जनता–जनार्दनका सुख–दुखमा निरन्तर उपस्थित रहने नेताका रूपमा परिचित छन्। जनसमस्यामा तत्काल प्रतिक्रिया दिने नेतृत्व शैलीका कारण उनको जनाधार दिनप्रतिदिन बढ्दै गएको देखिन्छ।

 

जनयुद्धकालदेखि नै पार्टीका विभिन्न जिम्मेवारीमा रहँदै आएका यादव संगठन निर्माणदेखि जनस्तरको अभियानसम्म सक्रिय रहँदै आएका नेता हुन्। उनी पार्टीभित्र इमानदार, संघर्षशील र संगठनात्मक क्षमतामा स्थापित भएकाले पर्सा–३ मा नयाँ राजनीतिक केन्द्रबिन्दुका रूपमा उदाएको प्रतित हुन्छ।

पार्टी नेतृत्वले समेत यादवलाई आगामी निर्वाचनमा बलियो दावेदारका रूपमा प्रस्तुत गर्दै उनको उम्मेदवारी पर्सा–३ मा निर्णायक प्रभाव पार्ने विश्वास व्यक्त गरेको छ।

सम्बन्धित