रक्सौलमा निःशुल्क नेत्र जाँच शिविर सम्पन्न, १५० भन्दा बढी लाभान्वित

 

 

रक्सौल।

 

रक्सौल शहरको पोस्ट अफिस रोडस्थित श्रीराम जानकी मन्दिर परिसरमा मंगलबार निःशुल्क नेत्र जाँच शिविर सम्पन्न भएको छ। भारत विकास परिषद शाखा रक्सौल तथा श्रीराम जानकी मन्दिर सह विवाह भवन समितिको संयुक्त आयोजनामा शिविर सञ्चालन गरिएको हो।

शिविरको उद्घाटन सिद्धि आई केयरका नेत्ररोग विशेषज्ञ डा. आदित्य प्रसाद र डा. बिपिशा श्रेष्ठ, भारत विकास परिषद शाखा रक्सौलका संरक्षक भरत प्रसाद गुप्त र अवधेश सिंह, मन्दिर समितिका अध्यक्ष विनोद गुप्ता तथा सचिव शिवपूजन प्रसादले संयुक्त रूपमा दीप प्रज्वलन गरी गर्नुभएको थियो। सो अवसरमा डा. प्रसाद र डा. श्रेष्ठलाई अंगवस्त्र प्रदान गरी सम्मान गरिएको थियो।

कार्यक्रममा चिकित्सकद्वयले आँखाको समयमै जाँच र हेरचाह नगरे गम्भीर नेत्र रोग हुने खतरा बढ्ने बताउनुभयो। आधुनिक जीवनशैलीका कारण मायोपिया, हाइपरोपिया तथा उमेरसँग सम्बन्धित आँखाका समस्या बढ्दै गइरहेको उल्लेख गर्दै समयमै उपचार गरे अन्धोपनबाट बच्न सकिने जानकारी दिनुभयो।

शिविरमा सिद्धि आई केयर अस्पतालका चिकित्सक टोलीले १५० भन्दा बढी सेवाग्राहीको आँखाको जाँच तथा परामर्श सेवा प्रदान गरेको थियो। जाँचका क्रममा आँखाको रातोपन, पानी बग्ने, कम देखिने समस्या तथा मोतियाबिन्दुका बिरामी बढी भेटिएका छन्। जाँच गरिएकामध्ये ३५ जना बिरामी मोतियाबिन्दुबाट पीडित रहेको आयोजकले जनाएको छ।

शिविरमा सहभागी सबै सेवाग्राहीले निःशुल्क जाँच, चिकित्सकीय परामर्श, औषधि तथा चश्मा जाँचको सुविधा प्राप्त गरेका थिए। भारत विकास परिषद शाखा रक्सौलका उपाध्यक्ष तथा कार्यक्रम संयोजक सुनील कुमारका अनुसार शिविरमा दर्ता भएका बिरामीहरूले सिद्धि आई केयर अस्पतालमा एक महिनासम्म निःशुल्क ओपीडी सेवा तथा जाँच र अपरेशनमा २५ देखि ३५ प्रतिशतसम्म छुट पाउने व्यवस्था गरिएको छ।

शिविर सफल बनाउन रजनीश प्रियदर्शी, उमेश सिकारिया, रमेश कुमार, नितेश कुमार सिंह, अरविन्द जायसवाल, अजय कुमार, विजय कुमार साह, लायन्स क्लब अध्यक्ष विमल सर्राफलगायतको उल्लेखनीय योगदान रहेको मन्दिर समितिका मिडिया प्रभारी रजनीश प्रियदर्शीले जानकारी दिनुभएको छ।

 

सम्बन्धित