अभिलाष गुप्ता
वीरगंज, १३ पौष
पटेर्वा सुगौली गाउँपालिकामा विद्यालयबाहिर रहेका दलित बालबालिकाको शिक्षामा पहुँच सुनिश्चित गर्ने उद्देश्यले पालिकास्तरीय समन्वय तथा सहकार्य बैठक सम्पन्न भएको छ।
गाउँपालिका उपाध्यक्ष ममता महतोको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम दलित महिला संघ पर्साको सहजीकरणमा शिक्षामा वकालत अभियान (CSE) अन्तर्गत आयोजना गरिएको हो।
जातीय तथा लैंगिक भेदभावविरुद्ध संघर्ष गर्दै न्यायपूर्ण र समतामूलक समाज निर्माण गर्ने मूल नारासहित कार्यक्रम पटेर्वा सुगौली गाउँपालिकाको बैठक हलमा सम्पन्न भएको थियो।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक, जनप्रतिनिधि, समाजसेवी तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। आयोजकका अनुसार कार्यक्रममा कुल ३६ जनाको उपस्थिति रहेको थियो।
दलित महिला संघ पर्साकी अध्यक्ष निला रामको विशेष उपस्थितिमा सम्पन्न कार्यक्रममा विद्यालयबाहिर रहेका दलित बालबालिकालाई औपचारिक शिक्षाको पहुँचमा ल्याउन स्थानीय तह, विद्यालय र समुदायबीच प्रभावकारी समन्वय र सहकार्य आवश्यक रहेकोमा जोड दिइएको थियो।
सहभागीहरूले दलित बालबालिकाको शिक्षामा पहुँच अभिवृद्धिका लागि सामूहिक पहल, सचेतना अभिवृद्धि र सहकार्यलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
कार्यक्रमको समन्वय पटेर्वा सुगौली गाउँपालिका र सहकार्य कारखाना समूहले गरेको थियो भने कार्यक्रमको आयोजना दलित महिला संघले गरेको हो।









