वीरगंज, १३ पौष
सशस्त्र प्रहरी बल (एपीएफ), नेपालका प्रहरी महानिरीक्षक (आईजीपी) राजु अर्यालले वीरगंज–रक्सौलस्थित अन्तर्राष्ट्रिय मितेरी पुल क्षेत्र वरिपरि सञ्चालन भइरहेको सौन्दर्यकरण कार्यको स्थलगत निरीक्षण गर्नुभएको छ।
निरीक्षणका क्रममा महानिरीक्षक अर्यालले नेपाल–भारत सीमा क्षेत्र देशको पहिचानसँग जोडिएको संवेदनशील र महत्वपूर्ण स्थान भएको उल्लेख गर्दै यहाँको सुरक्षा व्यवस्था, सरसफाइ र पूर्वाधार विकासलाई अझ प्रभावकारी बनाउन सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिनुभयो। उहाँले सीमा क्षेत्रमा वातावरणीय सौन्दर्य कायम राख्न हरियाली प्रवर्द्धन, सार्वजनिक स्थानको संरक्षण तथा दीर्घकालीन व्यवस्थापनका लागि सबै सरोकारवाला निकायबीच समन्वय आवश्यक रहेको बताउनुभयो।
वीरगंज महानगरपालिका, ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगर तथा सशस्त्र प्रहरी बल १३ नम्बर गण, बिरगंजको संयुक्त आयोजनामा सञ्चालन गरिएको यस अभियानले बिरगंजलाई हराभरा, स्वच्छ र वातावरणमैत्री सहर बनाउने लक्ष्यलाई थप बल पुर्याएको आयोजकहरूले बताएका छन्। उनीहरूका अनुसार अभियानमार्फत सीमा क्षेत्रमा सकारात्मक सन्देश फैलिनुका साथै स्थानीय समुदायको सक्रिय सहभागिता पनि बढ्दै गएको छ।
आज सम्पन्न निरीक्षण कार्यक्रममा वीरगंज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंह, सशस्त्र प्रहरीका एसपी पुरन चन्द भट्ट, डीएसपी पुरुषोत्तम भण्डारी, ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरका अध्यक्ष प्रकाश खेतान, वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख प्रहरी निरीक्षक विक्रम सुवेदी, रक्सौलका सीमा सुरक्षा बलका पदाधिकारीलगायत सामुदायिक प्रहरी, नगर प्रहरी, सशस्त्र प्रहरीका प्रतिनिधि तथा सर्वसाधारण नागरिकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा सहभागीहरूले सीमा क्षेत्रको सौन्दर्यकरणले सुरक्षा व्यवस्थापन मात्र नभई पर्यावरण संरक्षण र नागरिक सचेतनामा समेत महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन्।









