वीरगंज वार्ड नं १० मा शीतलहरबाट राहत, दुई दर्जनभन्दा बढी स्थानमा आगो ताप्ने व्यवस्था

अभिलाष गुप्ता

वीरगञ्ज, १३ पौष

 

वीरगंजमा पछिल्ला केही दिनदेखि बढेको कठ्याङ्ग्रिँदो चिसो र शीतलहरका कारण जनजीवन अत्यन्त कष्टकर बनेको छ। बिहान र साँझको चिसोले दैनिक मजदुरी गर्ने श्रमिक, रिक्सा चालक, सुरक्षाकर्मी तथा सर्वसाधारण नागरिक प्रत्यक्ष रूपमा प्रभावित भएका छन्।

 

यस अवस्थालाई मध्यनजर गर्दै वीरगंज महानगरपालिका वडा नम्बर १० का वडाध्यक्ष सुशील कुमार कानुको नेतृत्वमा वडावासीलाई राहत दिने उद्देश्यले मानवीय पहल सुरु गरिएको छ। आइतबारदेखि वडाभित्रका दुई दर्जनभन्दा बढी स्थानमा दाउरा बालेर आगो ताप्ने व्यवस्था मिलाइएको छ। शीतलहरको प्रभाव कायम रहुन्जेलसम्म यो व्यवस्था निरन्तर सञ्चालन हुने वडाध्यक्ष कानुले जानकारी दिनुभयो।

 

वडाध्यक्ष कानुका अनुसार विशेषगरी बाहिर बसेर काम गर्नुपर्ने मजदुर, रिक्सा चालक, सुरक्षाकर्मी तथा सर्वसाधारणलाई लक्षित गरी यो व्यवस्था गरिएको हो। ठाकुरराम क्याम्पस अगाडि, सत्या हल अगाडि, घडिअर्वा चोक, बाबा मठिया चोक, बनारसी चोक, वर्णवाल चोक, अशोक वाटिका चोक, रानीघाट चोक, घडिअर्वा गाउँको इनार अगाडि, प्रहरी चौकी अगाडि, कुमारी माई मन्दिर अगाडि, कर कार्यालय अगाडि, होली ल्यान्ड स्कुल अगाडि लगायत वडाका विभिन्न दुई दर्जनभन्दा बढी स्थानमा आगो ताप्ने व्यवस्था गरिएको छ।

 

“चिसोका कारण वडावासीहरू निकै पीडित छन्। उनीहरूको स्वास्थ्य सुरक्षा र दैनिक जीवन सहज बनाउन हामीले आगो ताप्ने व्यवस्था मिलाएका हौं,” वडाध्यक्ष कानुले बताउनुभयो।

यो पहल वडाध्यक्ष कानुको निरन्तर जनसेवाको उत्कृष्ट उदाहरणका रूपमा लिइएको छ। अघिल्ला वर्षहरूमा पनि उनले यस्ता मानवीय कार्य गर्दै आएका थिए। यस वर्षको शीतलहरमा समेत उनको संवेदनशील निर्णयले सयौँ सर्वसाधारणले राहत पाएका छन्। स्थानीयवासीहरूले वडाध्यक्ष कानुको कार्यको खुलेर प्रशंसा गर्दै धन्यवाद व्यक्त गरेका छन्।

 

वडाध्यक्ष सुशील कुमार कानुजस्ता जनप्रतिनिधिहरूले जनताको सुख–दुःखमा प्रत्यक्ष साथ दिने यस्ता मानवीय कार्यहरू प्रशंसनीय भएको स्थानीयहरूको भनाइ छ। यस्ता पहलहरूले स्थानीय सरकारप्रति जनताको विश्वास अझ मजबुत बनाउनुका साथै समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गरिएको छ।

 

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित