वीरगंज । सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हे.क्वा. पर्साले सीमावर्ती क्षेत्रमा हुने तस्करी तथा लागुऔषध ओसारपसार नियन्त्रण अभियानलाई थप तीव्र बनाएको छ। कडा सुरक्षा निगरानी र निरन्तर गस्तीको परिणामस्वरूप प्रतिबन्धित लागुऔषध गाँजासहित दुई जनालाई नियन्त्रणमा लिन सफल भएको छ।
सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय तथा नं. २ छिन्नमस्ता बाहिनीको नीति तथा निर्देशनअनुसार लागुऔषध नियन्त्रणलाई अभियानकै रूपमा अघि बढाइएको सशस्त्र प्रहरी बल पर्साले पछिल्लो समय उल्लेखनीय सफलता हासिल गर्दै आएको छ। यसअघिका विभिन्न अपरेशनहरूमा ठूलो मात्रामा प्रतिबन्धित लागुऔषध बरामद गरी सम्बन्धित निकायमा बुझाइएको छ। गत मंसिर महिनामा मात्रै ३२३ केजी गाँजा, पौष ९ गते १२० केजी गाँजा तथा पौष १० गते ७३८ फायल नाइट्राभेट बरामद गरी नेपाल प्रहरीलाई बुझाइएको थियो।
यसैक्रममा मिति २०८२ साल पौष १२ गते पर्सा जिल्लाको पटेर्वासुगौली गाउँपालिका–५ मनिहर्वा चोकमा सुरक्षा बेस पोखरीयाबाट खटिएको सशस्त्र प्रहरी टोलीले चेकप्वाइन्ट स्थापना गरी सवारी साधन जाँच गर्ने क्रममा नेपालबाट भारततर्फ लैजाँदै गरिएको प्रतिबन्धित गाँजा फेला पारेको हो। सशस्त्र प्रहरी नायब उपरीक्षक शम्भु कटुवालको कमाण्डमा रहेको मोबाइल गस्ती टोलीले दुईवटा मोटरसाइकलबाट लुकाइछिपाइ राखिएको कुल ९ केजी ३०० ग्राम गाँजा बरामद गरेको थियो।
बरामद गरिएको गाँजासहित दुई थान मोटरसाइकल, दुई थान मोबाइल फोन तथा भारतीय रुपैयाँ १४५० समेत नियन्त्रणमा लिई आवश्यक कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीमा बुझाइएको छ।
सशस्त्र प्रहरी बल पर्साका प्रमुख प्रहरी उपरीक्षक पुरन भट्टले सीमावर्ती क्षेत्रलाई लागुऔषध मुक्त बनाउने उद्देश्यका साथ सुरक्षा निगरानी अझ कडा बनाइएको जानकारी दिँदै यस्ता अवैध गतिविधिमा संलग्न जो–कोहीलाई कानुनी दायरामा ल्याइने स्पष्ट पारेका छन्। उनले नागरिकको सुरक्षा र समाजलाई लागुऔषधको दुष्प्रभावबाट जोगाउन सशस्त्र प्रहरी बल पूर्ण रूपमा प्रतिबद्ध रहेको बताए।









