समुदाय–प्रहरी साझेदारीअन्तर्गत लागूऔषधविरुद्ध सचेतनामूलक अभियान सञ्चालन

अभिलाष गुप्ता

वीरगंज, ११ पौष

 

समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत स्थानीय समस्यामा केन्द्रित भई अपराध तथा सुरक्षा चुनौतीका मूल कारण (Root Cause) पहिचान गर्ने उद्देश्यसहित रौतहट जिल्लामा “एक जिल्ला, एक समस्या” अवधारणाअनुसार लागूऔषधविरुद्ध सचेतनामूलक अभियान सञ्चालन गरिएको छ।

 

जिल्ला रौतहटको बौधीमाई नगरपालिकाको आयोजनामा जिल्ला प्रशासन कार्यालय रौतहट तथा जिल्ला प्रहरी कार्यालय रौतहटको संयुक्त सहकार्यमा बौधीमाई नगरपालिका वडा नं. ५ स्थित सामुदायिक भवनको प्राङ्गणमा उक्त कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रम बौधीमाई नगरपालिकाका नगर प्रमुख प्रदीप यादवको अध्यक्षतामा सम्पन्न भएको थियो भने प्रमुख अतिथिका रूपमा प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालको उपस्थिति रहेको थियो। साथै नगरपालिकाका उप–प्रमुख, जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक रबिन कार्की, सशस्त्र प्रहरी उपरीक्षक रामहरी अधिकारी, वरिष्ठ सई तेज प्रताप सिंह राजपुतलगायत विभिन्न सरकारी तथा गैरसरकारी संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

 

कार्यक्रममा बौधीमाई नगरपालिका भित्रका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थी तथा युवा वर्गलाई लक्षित गरी लागूऔषधले मानव शरीर, मानसिक अवस्था तथा समग्र समाजमा पार्ने नकारात्मक प्रभावबारे विस्तृत जानकारी प्रदान गरिएको थियो। साथै लागूऔषधसम्बन्धी विद्यमान कानुनी प्रावधान र कसुर ठहर भएमा हुने दण्ड–सजायका विषयमा समेत प्रशिक्षण दिइएको थियो।

 

प्रशिक्षणका क्रममा सहभागी विद्यार्थी तथा युवाहरूलाई लागूऔषधको ओसार–पसार, बिक्री–वितरण, सञ्चय, सेवन तथा तस्करीजस्ता अपराध नियन्त्रणमा उनीहरूले निर्वाह गर्न सक्ने भूमिकाबारे जानकारी गराइएको थियो। लागूऔषधसम्बन्धी कुनै शंकास्पद गतिविधि देखिएमा सुरक्षानिकायसँग सूचना आदान–प्रदान गरी अपराध नियन्त्रणमा सहयोग गर्न आग्रह गरिएको थियो।

 

कार्यक्रममा स्थानीय भद्रभलाद्मी, बुद्धिजीवी, समाजसेवी तथा शिक्षक–शिक्षिकाहरूको समेत सहभागिता रहेको थियो। वक्ताहरूले लागूऔषधको समस्या केवल सुरक्षाको विषय मात्र नभई सामाजिक, पारिवारिक तथा भावी पुस्तासँग जोडिएको गम्भीर चुनौती भएको उल्लेख गर्दै यसको नियन्त्रणका लागि सबै पक्षको संयुक्त प्रयास आवश्यक रहेकोमा जोड दिएका थिए।

 

आयोजकका अनुसार यस्ता प्रकारका सचेतनामूलक कार्यक्रमले विद्यार्थी तथा युवाहरूलाई लागूऔषधबाट टाढा राख्न, समाजमा सकारात्मक सोचको विकास गर्न तथा सुरक्षित समुदाय निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिइएको छ।

 

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित