वीरगंज, १० पुस ।
नेपाल रेडक्रस सोसाइटी मधेस प्रदेशका आठै जिल्लाको सहभागितामा वीरगंजमा मस्यौदा विधान २०८२ सम्बन्धी छलफल तथा परामर्श कार्यशाला सम्पन्न भएको छ। कार्यशालाको उद्घाटन नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय अध्यक्षको प्रमुख आतिथ्यमा गरिएको थियो।
उद्घाटन समारोहमा नेपाल रेडक्रस सोसाइटी वीरगंज शाखाकी उपसभापति श्रीमती मधु राणा, पूर्व केन्द्रीय सदस्य श्याम पोखरेललगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा बिरगंज शाखाका सभापति बृजकिशोर पटेलले सहभागीहरूलाई स्वागत गर्दै कार्यशालाको उद्देश्य तथा मस्यौदा विधानको महत्वबारे प्रकाश पार्नुभयो। उद्घाटन परम्परागत रूपमा गमलामा पानी हालेर संयुक्त रूपमा गरिएको थियो। कार्यक्रमको अध्यक्षता नेपाल रेडक्रस सोसाइटी मधेस प्रदेशका अध्यक्ष फूल मोहम्मद मियाँले गर्नु भएको थियो।
कार्यक्रममा विशिष्ट अतिथिका रूपमा नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाका सभापति बृजकिशोर पटेल, केन्द्रीय कार्यालयकी निर्देशक पूजा कोइराला, पर्सा शाखाका कोषाध्यक्ष दयाशंकर सिंह, कार्यालय प्रमुख वीरसमसेर कुर्मी, उमेश मिश्रालगायत विभिन्न जिल्लाका रेडक्रस पदाधिकारी तथा रेडक्रसकर्मीहरूको उपस्थिति रहेको थियो।
आयोजकका अनुसार कार्यशालामा आठवटै जिल्लाबाट आएका पदाधिकारी तथा रेडक्रसकर्मीहरूले सक्रिय सहभागिता जनाएका थिए। कार्यक्रममा मस्यौदा विधान २०८२ सम्बन्धी विस्तृत छलफल, सुझाव आदानप्रदान तथा नीति सुधारका विषयमा परामर्श गरिएको थियो।
नेपाल रेडक्रस सोसाइटीले यस प्रकारका कार्यशालालाई महत्वपूर्ण अवसरका रूपमा लिँदै विधि, नीति तथा संगठनात्मक सुधारमा स्थानीय तहका अनुभव र सुझावहरू समेट्ने प्रयास गरिएको जनाएको छ।









