वीरगञ्ज /१० पुस
वीरगञ्जस्थित डिएभी आर.बी. केडिया स्कुलमा कक्षा ११ मा नवप्रवेश गरेका विद्यार्थीहरूको बिहीबार एक विशेष कार्यक्रमबीच भव्य स्वागत गरिएको छ। स्वागत कार्यक्रम विद्यालयका प्रिन्सिपल राकेश मिश्रको अध्यक्षतामा तथा माउन्ट मकालु बोर्डिङ स्कुलका प्रिन्सिपल एवं प्याब्सन महानगर अध्यक्ष राहुल श्रीवास्तवको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि श्रीवास्तवले नवप्रवेशी विद्यार्थीहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्दै लक्ष्य स्पष्ट गरी अनुशासित रूपमा अध्ययन गर्न आग्रह गरे। उनले डिएभी आर.बी. केडिया स्कुल वीरगञ्जका गुणस्तरीय शैक्षिक संस्थामध्ये एक भएको उल्लेख गर्दै यहीँ उच्च शिक्षा अध्ययनका लागि उपयुक्त वातावरण रहेको बताए। साथै, प्याब्सन महानगरले छात्रवृत्तिमार्फत विद्यार्थीहरूलाई सहयोग गर्दै आएको र एसईईपछि अन्य शहर पलायन रोक्ने प्रयास भइरहेको जानकारी दिए।

विद्यालयका प्रिन्सिपल राकेश मिश्रले नवप्रवेशी विद्यार्थीहरूलाई टीका र खादा ओढाएर स्वागत गर्दै शिक्षा क्षेत्रमा कुनै कसर बाँकी नराखिने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा विभिन्न विषयका शिक्षक–शिक्षिका, विद्यालय प्रशासन तथा सञ्चालकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।









