अभिलाष गुप्ता
बिरगञ्ज, ०८ पौष
देशका तराई क्षेत्रका आठ वटै जिल्ला गम्भीर खडेरीबाट प्रभावित बनेको अवस्थामा सरकारले पहिलो पटक सुख्खासंकट घोषणा गरेको छ। यस सन्दर्भमा नेपाल रेडक्रस सोसाइटीले रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासंघ (IFRC) सँगको सहकार्यमा DREF (Disaster Relief Emergency Fund) मार्फत आपत्कालीन तथा छिटो पुनःस्थापना कार्यक्रम सञ्चालन गरेको छ।

सो कार्यक्रमअन्तर्गत मधेश प्रदेशका पर्सा, बारा, रौतहट र सर्लाही जिल्लामा आपत्कालीन खानेपानी वितरण, बोरिङ जडानलगायतका गतिविधिहरूमार्फत करिब ६० हजार खडेरी प्रभावित समुदायलाई सहयोग पुर्याइएको छ।

यसै सन्दर्भमा कार्यक्रमको प्रभावकारिता मूल्याङ्कन, सिकाइ तथा अनुभव आदान–प्रदान गर्ने उद्देश्यले “Lessons Learnt Workshop” शीर्षकको दुई दिने पाठ सिकाइ कार्यशाला बिरगञ्जस्थित होटल भिस्वामा आजदेखि सुरु भएको छ। कार्यशालामा चारै जिल्लाका रेडक्रस प्रतिनिधि, नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालय, साझेदार संस्था, कर्मचारी, स्वयंसेवक, स्थानीय जनप्रतिनिधि तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको छ।
कार्यशालाको उद्घाटन संयुक्त रूपमा दीप प्रज्वलन गरी गरिएको थियो। कार्यक्रमको अध्यक्षता नेपाल रेडक्रस सोसाइटी मधेश प्रदेशका अध्यक्ष फूल महमद मियाँले गर्नुभएको थियो। विशिष्ट अतिथिका रूपमा नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाका सभापति बृजकिशोर पटेल, नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयकी निर्देशक पूजा कोइराला, कार्यक्रम व्यवस्थापक तथा IFRC नेपालका अधिकारी प्रजोल आचार्यको उपस्थिति रहेको थियो।
त्यसैगरी नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाका कोषाध्यक्ष दया शंकर सिंह, कार्यालय प्रमुख बिरसमसेर कुर्मी, उमेश मिश्रालगायत विभिन्न जिल्लाका रेडक्रस पदाधिकारी तथा रेडक्रसकर्मीहरूको सहभागिता रहेको थियो। कार्यशालामा पर्सा, बारा, रौतहट, सर्लाही तथा सप्तरी जिल्लाबाट आएका पदाधिकारी एवं रेडक्रसकर्मी गरी करिब ४२ जनाको सहभागिता रहेको आयोजकले जनाएको छ।
कार्यशालामा नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयकी निर्देशक पूजा कोइरालाले कार्यशालाको उद्देश्य, उपलब्धि तथा आगामी मार्गचित्रबारे प्रकाश पार्नुभयो। उहाँले करिब ३ करोड रुपैयाँ बराबरको सहयोग छ महिनाको अवधिमा आपत्कालीन पिउने पानी आपूर्तिदेखि दीर्घकालीन समाधानसम्म केन्द्रित रहेको जानकारी दिनुभयो। समुदायको आवश्यकता र अनुरोधअनुसार बोरिङ जडान गरी घरपरिवारलाई प्रत्यक्ष लाभान्वित गरिएको उहाँको भनाइ थियो। साथै पर्सा तथा सप्तरी जिल्लामा हैजा रोकथामसम्बन्धी गतिविधिहरू पनि सञ्चालन गरिएको जानकारी दिनुभयो।
निर्देशक कोइरालाले खडेरी आजको मात्र समस्या नभई दशकौँदेखिको न्यून लगानी, चुरे दोहन, पानीका स्रोतको क्षय, बदलिँदो मौसम, बढ्दो तापक्रम, अव्यवस्थित बसोबास तथा असन्तुलित विकासका कारण उत्पन्न समस्या भएको उल्लेख गर्नुभयो। यस्ता चुनौतीका बीच प्रकृति र प्रविधिसँग मेल खाने दीर्घकालीन खानेपानी व्यवस्थापन समाधानमा रेडक्रसले निरन्तर सहयोग गर्दै आएको उहाँले स्पष्ट पार्नुभयो।
संवेदनशील विकास, समुदायमुखी परियोजना, सरकार र साझेदार संस्थाबीचको सहकार्य, गरिबी निवारणमा दिगो लगानी, स्थानीय तथा केन्द्रीय सरकारको सक्रियता र युवाको अग्रसरतामा पूर्वतयारी तथा उत्थानशीलता निर्माण आवश्यक रहेकोमा उहाँले जोड दिनुभयो।
कार्यक्रममा निर्देशक कोइरालाले जलवायु परिवर्तनका कारण बढ्दो विपद् र संकटको अवस्थालाई कवितामार्फत प्रस्तुत गर्दै प्रकृति संरक्षण, सहकार्य र सचेतनाबाट मात्र समाधान सम्भव हुने सन्देश दिनुभयो। “आगो पिएर पानी उमार्ने” दृढ संकल्पका साथ समुदायलाई सक्षम, सबल र आत्मनिर्भर बनाउँदै अघि बढ्नुपर्ने उहाँको आह्वान थियो।
कार्यशालामा सहभागीहरूले खडेरी प्रभावित समुदायको पहिचान, राहत वितरण, स्वच्छ खानेपानी तथा सरसफाइसम्बन्धी सचेतना, स्थानीय तहसँगको समन्वय र स्वयंसेवक परिचालनका कारण कार्यक्रम प्रभावकारी बनेको अनुभव साझा गरे। यद्यपि सीमित स्रोतसाधन, भौगोलिक कठिनाइ, समयमै सूचना संकलन तथा मौसमीय अनिश्चितताका कारण कार्यक्रम कार्यान्वयनमा चुनौतीहरू रहेको पनि औँल्याइएको छ।
कार्यशालाबाट प्राप्त सिकाइ तथा अनुभवलाई आगामी आपत्कालीन तथा दीर्घकालीन कार्यक्रमहरूमा समेट्दै समन्वय, स्रोत व्यवस्थापन र समुदायको आपत्कालीन तयारी क्षमतालाई थप सुदृढ बनाउने निष्कर्ष निकालिएको छ। दुई दिने उक्त कार्यशाला भोलि बुधबार सम्पन्न हुने आयोजकले जानकारी दिएको छ।









