अभिलाष गुप्ता
वीरगञ्ज, ७ पुस
न्याय, संविधान तथा मानवअधिकारको संरक्षणका लागि नेपाल बार एसोसिएसनले सञ्चालन गरिरहेको अभियानअन्तर्गत बार डे–२०८२ को अवसरमा आज बिहान वीरगञ्जमा प्रभातफेरी कार्यक्रम सम्पन्न भएको छ।
उच्च अदालत बार एसोसिएसन वीरगञ्ज र पर्सा जिल्ला अदालत बार एसोसिएसनको संयुक्त आयोजनामा सम्पन्न प्रभातफेरी वीरगञ्जको घण्टाघर चोकबाट सुरु भई बजार परिक्रमा गर्दै पुनः घण्टाघरमै आएर समापन भएको थियो।

कार्यक्रम उच्च अदालत बार एसोसिएसन वीरगञ्जका अध्यक्ष सैलेन्द्र बर्माको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा प्रमुख अतिथिका रूपमा जिल्ला बार एसोसिएसनका निवर्तमान उपाध्यक्ष सुधीर कुमार कर्ण सहभागी हुनुहुन्थ्यो। विशिष्ट अतिथिहरूमा जिल्ला बार एसोसिएसनका अध्यक्ष रामनारायण कुर्मी, उच्च अदालत बार एसोसिएसनका सचिव प्रज्वल अधिकार तथा कार्यसमिति सदस्य चन्द्रीका प्रसाद पटेललगायतको उपस्थिति रहेको थियो।

वीरगञ्ज स्कुल अफ ल मा अध्ययनरत बी.ए.एल.एल.बी.का विद्यार्थीहरूले ब्यानर तथा प्लेकार्डसहित सहभागी भएको प्रभातफेरीमा बिहान ७ बजेदेखि कानून व्यवसायी, कानून अध्ययनरत विद्यार्थी तथा अन्य सरोकारवालाहरूको उल्लेख्य सहभागिता रहेको थियो।
प्रभातफेरीका क्रममा सहभागीहरूले न्यायको सुनिश्चितता, संविधानको रक्षा तथा मानवअधिकारको सम्मानसम्बन्धी सन्देशमूलक नारा लेखिएका ब्यानर र प्लेकार्ड प्रदर्शन गरेका थिए। कार्यक्रममा कानूनको शासन सुदृढ गर्दै नागरिकका मौलिक अधिकारको संरक्षणमा बारको भूमिका अझ प्रभावकारी हुनुपर्नेमा जोड दिइएको थियो।
कार्यक्रमको सञ्चालन उच्च अदालत बार एसोसिएसनका कार्यसमिति सदस्य चन्द्रीका प्रसाद पटेलले गर्नुभएको थियो। आयोजक संस्थाका पदाधिकारीहरूले बार डे–२०८२ को अवसरमा आयोजना गरिएको यस किसिमको कार्यक्रमले समाजमा न्यायिक सचेतना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन्।









