गौशाला, पुस ४ गते ।
रामगोपालपुर नगरपालिका–१ मा पर्ने बसबिट्टी गाउँका मुसहर समुदायको जीवनस्तर पछिल्ला वर्षहरूमा केही हदसम्म सुधार हुँदै गएको देखिएको छ । आधारभूत सेवा–सुविधा, सचेतना तथा स्थानीय तहको पहलका कारण समुदायको दैनिकीमा सकारात्मक परिवर्तन देखिन थालेको हो ।
महोत्तरीमा रतौली युवा क्लब महोत्तरी र एक्सन एड नेपालको साझेदारीमा तथा रामगोपालपुर नगरपालिकाको समन्वयमा सञ्चालन भइरहेको स्थानीय अधिकार कार्यक्रम (LRP–41) अन्तर्गत शुक्रबार संयुक्त स्थलगत अवलोकन (MPAC) अनुगमन गरिएको थियोे । कार्यक्रमको प्रभावकारिता मूल्यांकन, पारदर्शिता प्रवर्द्धन तथा स्थानीय तहको जवाफदेहिता मजबुत बनाउने उद्देश्यले उक्त अनुगमन गरिएको थियोे ।
नगर प्रमुख राम दुलार साहको प्रमुख अतिथिमा सम्पन्न अनुगमनका क्रममा टोली वडा नं. १ स्थित बसबिट्टीको मुसहर बस्तीमा पुगेर भुइया बाबा महिला समूह, किशोरी समूह तथा युवा समूहका सदस्यहरूसँग अन्तरक्रिया गरेको थियो । अन्तरक्रियाका क्रममा सहभागीहरूले आर्थिक अवस्था कमजोर भएका कारण शौचालयको अभाव, सीपमूलक तथा आयआर्जनसम्बन्धी तालिमको कमी, रोजगारीका अवसर सीमित हुनु, शिक्षा, स्वास्थ्य, आवास तथा खानेपानीसम्बन्धी समस्या रहेको गुनासो राखेका थिए ।
कार्यक्रममा बोल्दै नगर प्रमुख साहले मुसहर समुदायको जीवनस्तर सुधारका लागि नगरपालिकाले निरन्तर काम गरिरहेको बताए । हालसम्म भएका प्रयास पर्याप्त नभएको स्वीकार गर्दै उनले लक्षित कार्यक्रम मार्फत चरणबद्ध रूपमा समस्या समाधान गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । शिक्षा पहुँच विस्तार, सीपमूलक तालिम सञ्चालन, आवास सुधार तथा रोजगारी सिर्जनालाई प्राथमिकतामा राखिने उहाँको भनाइ थियो ।
“मुसहर समुदायको समग्र विकास नगरपालिकाको प्राथमिकता हो, उनीहरूको जीवनमा वास्तविक परिवर्तन ल्याउन हामी प्रतिबद्ध छौं,” नगर प्रमुख साहले भन्नुभयो ।
यसैगरी प्रमुख प्रशासकीय अधिकृत अच्छेलाल दासले मुसहर समुदायबाट उठाइएका माग तथा सुझावहरूलाई नगरपालिकाको योजना तथा बजेट प्रक्रियासँग जोडेर अगाडि बढाइने जानकारी दिनुभयो ।
अनुगमन कार्यक्रममा नगर प्रमुख राम दुलार साह, उप–प्रमुख रिना देवी यादव, प्रमुख प्रशासकीय अधिकृत अच्छेलाल दास, शिक्षा शाखा संयोजक देवनारायण सिंह, अरुण कुमार साह, जिन्सी प्रमुख मुस्लिम बैठा, विभिन्न शाखाका प्रतिनिधिहरू, विद्यालय व्यवस्थापन समिति, भवन निर्माण समिति, कार्यक्रम संयोजक अविनाश कुमार महतो, परियोजना अधिकृत अभिषेक दुबेलगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रम संयोजक अविनाश कुमार महतोका अनुसार स्थानीय अधिकार कार्यक्रम (LRP–41) ले शिक्षा, जीविकोपार्जन, सामाजिक समावेशीकरण तथा स्थानीय तहको जवाफदेहिता सुदृढ गर्ने लक्ष्य लिएको छ। संयुक्त स्थलगत अवलोकन तथा MPAC अनुगमनबाट कार्यक्रमको प्रगति मूल्यांकन हुनुका साथै सरोकारवालाबीच समन्वय, पारदर्शिता र विश्वास अभिवृद्धि भएको सहभागीहरूले बताएका छन् ।
संयुक्त अनुगमनले स्थानीय तहमा विकास कार्यक्रमहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न, समुदायको आवाजलाई निर्णय प्रक्रियामा समेट्न तथा सुशासन प्रवर्द्धन गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।









