अभिलाष गुप्ता
वीरगंज/६ पौष
वीरगंजमा अटो रिक्सा तथा टाँगा चालकहरूसँग सीमा सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रण तथा शान्ति–सुरक्षा मजबुत बनाउने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा चालकहरूको भूमिका अत्यन्तै महत्वपूर्ण रहेकोमा जोड दिइएको थियो।
कार्यक्रमका प्रमुख अतिथि शस्त्र प्रहरी बल नेपाल, १३ नम्बर गण वीरगंजका एसपी पुरन चन्द भट्टले सीमा सुरक्षा सुदृढ गर्न स्थानीय नागरिक, विशेषगरी अटो रिक्सा तथा टाँगा चालकहरूको सहकार्य अपरिहार्य रहेको बताउनुभयो।
उहाँले चालकहरू दैनिक रूपमा सीमा क्षेत्रमा आवतजावत गर्ने भएकाले कुनै पनि शंकास्पद गतिविधि देखेमा तुरुन्त सुरक्षा निकायलाई जानकारी गराउन आग्रह गर्नुभयो।
त्यसैगरी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरका अध्यक्ष प्रकाश खेतानले सुरक्षा निकाय र नागरिकबीच आपसी विश्वास र सहकार्य बढाउन यस्ता अन्तरक्रिया कार्यक्रम प्रभावकारी हुने उल्लेख गर्नुभयो। उहाँले समुदायको सक्रिय सहभागिताले मात्र दिगो शान्ति र सुरक्षा सम्भव हुने धारणा व्यक्त गर्नुभयो।
अन्तरक्रिया कार्यक्रममा करिब १०० जना भन्दा बढी अटो रिक्सा तथा टाँगा चालकहरूको सहभागिता रहेको थियो। सहभागी चालकहरूले सीमा सुरक्षासँग सम्बन्धित विभिन्न जिज्ञासा राख्दै सुरक्षा निकायसँग प्रत्यक्ष संवाद गर्ने अवसर पाएको भन्दै कार्यक्रमलाई उपयोगी र समय सान्दर्भिक भएको प्रतिक्रिया दिएका थिए।
उक्त कार्यक्रममा विशिष्ट अतिथिका रूपमा वीरगंज भन्सारका डिएसपी पुरुसोतम भण्डारीको उपस्थिति रहेको थियो। साथै सञ्चारकर्मी अभिलाष गुप्ता तथा सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरका पदाधिकारीहरूको समेत उल्लेखनीय सहभागिता रहेको थियो।









