पर्सा। जिराभवानी गाउँपालिकाले प्रमुख प्रशासकीय अधिकृतको सरुवासम्बन्धी विषयमा असहमति जनाउँदै प्रेस विज्ञप्ति जारी गरेको छ। गाउँपालिकाले उक्त विषयलाई गम्भीर प्रशासनिक समस्याका रूपमा लिएको जनाएको छ।
विज्ञप्तिअनुसार प्रमुख प्रशासकीय अधिकृतको सरुवाका सम्बन्धमा गाउँपालिका अध्यक्ष स्वयं तीन पटकसम्म मन्त्रालयमा उपस्थित भई आग्रह गरेका थिए। पटक–पटक जानकारी गराउँदा पनि उक्त अधिकृत असार महिनासम्म सरुवा नगर्नु बरमबार जानकारी गराए पनि मन्त्रालयको मिति २०८२/०८/२९ को निर्णयअनुसार कालिकामाई गाउँपालिका, पर्सामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत अमित कुमार गिरीलाई जिराभवानी गाउँपालिकामा सरुवा गरिएको भए पनि गाउँपालिकाको सहमति बिना नै सरुवा गरिएको विज्ञप्तिमा उल्लेख छ। यस विषयलाई गाउँपालिकाले गम्भीर ध्यानाकर्षणको विषय मानेको छ।
विज्ञप्तिमा जिराभवानी गाउँपालिकाको स्थापना कालदेखि हालसम्म झण्डै आठ वर्षको अवधिमा सोही अधिकृतले बारम्बार, करिब पाँच पटकसम्म सरुवा लिँदै आएको उल्लेख गरिएको छ। यस अवस्थाले स्थानीय प्रशासन र सुशासनमा गम्भीर असर परेको गाउँपालिकाको ठहर छ।
गाउँपालिकाले वर्तमान परिस्थितिमा जुनसुकै अवस्था आए पनि उक्त अधिकृतलाई यस कार्यालयमा हाजिर नगराइने स्पष्ट गरेको छ। साथै सो अधिकृत बाहेक अन्य कुनै प्रमुख प्रशासकीय अधिकृतलाई सरुवा गरी पठाउन सम्बन्धित निकायसँग आग्रह गरिएको छ।
यदि निर्णय सच्याइएन भने त्यसबाट उत्पन्न हुने परिस्थितिको सम्पूर्ण जिम्मेवारी सम्बन्धित मन्त्रालय स्वयंले लिनुपर्ने गाउँपालिकाका अध्यक्ष अनोज चौधरी द्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ।









