,

प्याब्सन पर्साद्वारा अन्तर–स्कुल आर्ट एन्ड ह्यान्डराइटिङ प्रतियोगिता शुक्रबार हुँदै

पवन साह Avatar
प्याब्सन पर्साद्वारा अन्तर–स्कुल आर्ट एन्ड ह्यान्डराइटिङ प्रतियोगिता शुक्रबार हुँदै

अभिलाष गुप्ता

वीरगंज ०३ पौष

 

 निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) पर्साले शुक्रवार अन्तर–स्कुल आर्ट एन्ड ह्यान्डराइटिङ प्रतियोगिता आयोजना गर्ने भएको छ। पर्सा जिल्लामा प्याब्सनसँग आबद्ध ३५ विद्यालयका ४०० भन्दा बढी विद्यार्थीहरूले प्रतियोगितामा सहभागिता जनाउनेछन्।

 

प्रतियोगिता वीरगञ्जस्थित राणीसती मन्दिर धर्मशालामा बिहान १० बजेदेखि सुरु हुनेछ, जानकारी प्याब्सन पर्साका सचिव अशोक सङ्ग्रौलाले दिए।

 

सङ्ग्रौलाका अनुसार, प्रतियोगिताले विद्यार्थीहरूमा कलात्मक सीपको विकास गर्न, राम्रो हस्तलेखनको महत्त्व बुझाउन र प्रोत्साहन गर्न मद्दत गर्नेछ। “आजको डिजिटल युगमा पनि राम्रो हस्तलेखनको आफ्नै महत्त्व छ। यसले विद्यार्थीहरूको एकाग्रता र रचनात्मकता बढाउँछ। यो प्रतियोगिताले उनीहरूमा लुकेको कलात्मक प्रतिभा प्रस्फुटन गर्न सहयोग गर्नेछ,” उनले भने।

 

प्रतियोगिताको सम्पूर्ण जिम्मेवारी प्याब्सन पर्साका वरिष्ठ सदस्य तथा मुनलाइट स्कुलका संस्थापक सुशील केसीलाई दिइएको छ। केसीका अनुसार, प्रतियोगिता समूहगत रूपमा सञ्चालन हुनेछ। आर्टतर्फ नर्सरीदेखि कक्षा १२ सम्मका विद्यार्थीहरूलाई ६ समूहमा विभाजन गरी प्रतिस्पर्धा गराइनेछ भने ह्यान्डराइटिङतर्फ कक्षा १ देखि १० सम्मका विद्यार्थीहरूलाई ४ समूहमा राखिएको छ।

 

निष्पक्ष निर्णयका लागि काठमाडौँबाट विशेष निर्णायक मण्डल बोलाइएको छ। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थी तथा समूहलाई मेडल, शिल्ड, प्रमाणपत्रलगायत आकर्षक पुरस्कार प्रदान गरिनेछ।

 

आयोजकहरूले बताए अनुसार, प्रतियोगिताले पर्सा जिल्लाका निजी विद्यालयहरूबीच स्वस्थ प्रतिस्पर्धाको वातावरण सिर्जना गर्नेछ र विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ।