,

नारायणी रंगशालामा NI Cup 2082 अन्तर–कलेज टी–२० क्रिकेट टुर्नामेन्ट सुरु

पवन साह Avatar
नारायणी रंगशालामा NI Cup 2082 अन्तर–कलेज टी–२० क्रिकेट टुर्नामेन्ट सुरु

 

अभिलाष गुप्ता

वीरगञ्ज, ०३ पौष

 

वीरगञ्जको नारायणी रंगशालामा नेशनल इन्फोटेक कलेजको आयोजनामा NI Cup 2082 अन्तर–कलेज टी–२० क्रिकेट टुर्नामेन्ट भव्य रूपमा सुरु भएको छ। टुर्नामेन्टको उद्घाटन वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख मेयर राजेशमान सिंहको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।

 

उद्घाटन कार्यक्रममा विशिष्ट अतिथिका रूपमा क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान) का उपाध्यक्ष रोशन कुमार सिंह उपस्थित थिए। पर्सा क्रिकेट एसोसिएसनका अध्यक्ष मनिष सिंहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेशनल इन्फोटेक कलेजका निर्देशक तथा कार्यक्रम संयोजक युवा नेता सुधिर पटेलले टुर्नामेन्टले कलेजस्तरीय विद्यार्थी खेलाडीहरूलाई प्रतिस्पर्धा, अनुभव र प्रतिभा प्रदर्शनको महत्वपूर्ण अवसर प्रदान गर्ने बताए।

 

पहिलो खेलको नतिजा

 

टुर्नामेन्टको पहिलो खेल बालएक्टा कलेज र नेशनल इन्फोटेक कलेज बीच सम्पन्न भयो। टस हारेर पहिले ब्याटिङ गरेको बालएक्टा कलेज १७.१ ओभरमा ३६ रनमै अलआउट भयो। बालएक्टाका अविशेक कुमार र अविशेक के. तिवारीले समान ११–११ रनको योगदान दिए। नेशनल इन्फोटेकका तर्फबाट प्रथम गुप्ताले ३.१ ओभरमा ३ विकेट लिँदै उत्कृष्ट बलिङ प्रदर्शन गरे भने निरज पटेलले ३ ओभरमा २ विकेट लिए।

 

जवाफमा नेशनल इन्फोटेक कलेजले ५.१ ओभरमै २ विकेट गुमाएर ४० रन बनाउँदै लक्ष्य सहजै पूरा गर्‍यो। डाबली मलिकले १७ रन र सुसान्त सिंहले १२ रनको योगदान दिए। यस खेलमा नेशनल इन्फोटेक कलेज ८ विकेटले विजयी भयो।

पहिलो खेलको प्लेयर अफ द म्याच पुरस्कार क्यानका उपाध्यक्ष रोशन कुमार सिंहले प्रदान गरेका थिए।

 

दोस्रो खेलको नतिजा

 

दोस्रो खेलमा BPC कलेज र OM नेशनल कलेज आमनेसामने भए। पहिले ब्याटिङ गरेको BPC कलेजले निर्धारित २० ओभरमा १० विकेट गुमाउँदै १२२ रन बनायो। आयुष गुप्ताले २३ रन र अजाज अलीले २१ रनको योगदान दिए। OM नेशनलका तर्फबाट कुनाल मिश्राले ४ ओभरमा ३ विकेट तथा आदिल हवारीले ४ ओभरमा ३ विकेट लिए।

 

१२३ रनको लक्ष्य पछ्याएको OM नेशनल कलेज २० ओभरमा ९ विकेट गुमाएर ८४ रनमै सीमित भयो। राहुल टी.के. हजामले ३१ रन बनाए भने शेख साकेतले १० रनको योगदान दिए। BPC कलेजका अजाज अलीले ३ ओभरमा २ विकेट तथा अर्का बलरले ४ ओभरमा २ विकेट लिए। यस खेलमा BPC कलेज ३८ रनले विजयी भयो।

दोस्रो खेलको प्लेयर अफ द म्याच पुरस्कार पूर्व केन्द्रीय सदस्य कृष्ण कन्हैया द्वारा प्रदान गरिएको थियो।

 

आयोजकका अनुसार टुर्नामेन्टले वीरगञ्ज र आसपासका कलेजस्तरीय क्रिकेट खेलाडीहरूको प्रतिभा उजागर गर्न सहयोग पुग्नेछ भने आगामी दिनमा यस्ता प्रतियोगितालाई निरन्तरता दिइने छ।