अभिलाष गुप्ता
वीरगंज, २८ मंसिर — वीरगंज जेसिजको ५३औँ वार्षिक साधारण सभा तथा शाखा अधिवेशन भव्य एवं सभ्य वातावरणमा सफलतापूर्वक सम्पन्न भएको छ। साधारण सभा वीरगंज जेसिज वर्ष २०२५ का अध्यक्ष सिनेटर सरोज चौरसियाको अध्यक्षतामा सम्पन्न भएको हो।
साधारण सभाको औपचारिक सत्रमा महासचिवले वर्षभरि सञ्चालन गरिएका कार्यक्रम तथा गतिविधिहरू समेटिएको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभयो। त्यसैगरी कोषाध्यक्षले शाखाको आर्थिक अवस्थालाई प्रतिबिम्बित गर्ने विस्तृत आर्थिक प्रतिवेदन सभासमक्ष पेश गर्नुभयो। बोर्ड अफ ट्रस्टीजको तर्फबाट सिनेटर निशान्त लामिछानेले समेत आफ्नो प्रतिवेदन प्रस्तुत गर्नुभयो।
साधारण सभासँगै सम्पन्न निर्वाचन कार्यक्रमअन्तर्गत वीरगंज जेसिज वर्ष २०२६ का लागि नयाँ कार्यसमिति चयन गरिएको छ। निर्वाचन प्रक्रिया सम्पन्न भएपछि निर्वाचन आयुक्त सिनेटर डा. अरविन्द श्रेष्ठले नतिजा औपचारिक रूपमा घोषणा गर्नुभयो।
निर्वाचन परिणामअनुसार अध्यक्ष पदमा जेसी रविन्द्र श्रेष्ठ निर्वाचित हुनुभएको छ। कार्यकारिणी उपाध्यक्ष पदमा जेसी रोशन दास थारु र जेसी रामानन्द चौधरी चयन हुनुभएको छ। उपाध्यक्ष पदमा जेसी निशचल प्रजापति, जेसी दीपक कुमार मेहता, जेसी रोहित गुप्ता र जेसी राकेश प्रसाद कुशवाहा निर्विरोध निर्वाचित हुनुभएको छ।
नवनिर्वाचित अध्यक्ष जेसी रविन्द्र श्रेष्ठले वर्ष २०२६ का लागि कार्यसमितिलाई पूर्णता दिँदै जेसी उमेश गुप्तालाई कानुनी सल्लाहकार, जेसी प्रकाश साहलाई महासचिव तथा जेसी पप्पु गुप्तालाई कोषाध्यक्ष पदमा मनोनयन गर्नुभएको छ।
त्यसैगरी बोर्ड सल्लाहकारमा वर्ष २०२५ का कार्यकारिणी उपाध्यक्ष जेसी सेराज अन्सारीलाई मनोनयन गरिएको छ। अध्यक्ष सल्लाहकारका रूपमा पूर्व अध्यक्षहरू जेसी मुकेश सिंह, सिनेटर सन्तोष खनाल, सिनेटर बद्री बहादुर अधिकारी, सिनेटर गणेशमान श्रेष्ठ, सिनेटर निशान्त कुमार लामिछाने तथा सिनेटर अमित श्रेष्ठ चयन हुनुभएको छ। साथै पूर्व अध्यक्ष जेसी अमर बहादुर गौतमलाई प्रमुख अध्यक्ष सल्लाहकारको जिम्मेवारी प्रदान गरिएको छ।










