वीरगंजमा आँखाशिविर सम्पन्न, १२५ जनामा मोतिया बिन्दु फेला

अभिलाष गुप्ता

वीरगंज, २७ मंसिर

 

वीरगंजमा त्रिजुद्ध माध्यमिक विद्यालयका पूर्व विद्यार्थीहरूले आयोजना गरेको निःशुल्क आँखाशिविर सम्पन्न भएको छ। शिविरमा ५०५ जनाको आँखा परीक्षण गर्दा १२५ जनामा मोतिया बिन्दुको समस्या पत्ता लागेको आयोजकहरूले जानकारी दिएका छन्।

पहिचान भएका बिरामीहरूको आगामी सोमबार निःशुल्क शल्यक्रिया गरिने बताइएको छ। आयोजकहरूले आँखासम्बन्धी रोगको समयमै पहिचान गरी उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले शिविर आयोजना गरिएको बताए।

शिविर सञ्चालनमा वीरगंज सामुदायिक अस्पतालले प्राविधिक सहयोग प्रदान गरेको थियो। अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले आँखाशिविरमा सहभागीलाई आवश्यक परामर्श सेवा पनि प्रदान गरेका थिए।

 

शिविरको उद्घाटन वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले गर्नुभएको थियो। उहाँले सहरी र बजार क्षेत्रमा मोतिया बिन्दुका बिरामी भेटिनु चिन्ताको विषय भएको बताउँदै, आँखासम्बन्धी रोगको रोकथाम र उपचारमा महानगरपालिका निरन्तर क्रियाशील रहेको उल्लेख गर्नुभयो।

 

महानगर प्रमुख सिंह स्वयं पनि २०४२ ब्याचका विद्यार्थी भएकाले त्रिजुद्ध माध्यमिक विद्यालयमा शिविर आयोजना गरिएको हो। शिविरमा सहभागीहरूलाई आवश्यक औषधि निःशुल्क वितरण गरिएको थियो।

 

पूर्व विद्यार्थी सर्फुद्दिन मियाँले शल्यक्रिया पछि बिरामीहरूलाई चस्मा र औषधि निःशुल्क उपलब्ध गराइने जानकारी दिनुभयो। वीरगंज सामुदायिक अस्पतालका मेडिकल अधिकृत महेश सिंह धामीले मोतिया बिन्दु समयमै पहिचान र उपचार गरे पूर्ण रूपमा निको हुने रोग भएको बताए र आँखामा समस्या देखिएमा ढिलाइ नगरी परीक्षण गराउन आग्रह गर्नुभयो।

 

शिविरमा वीरगंज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्ण, साहिब दरबारका अध्यक्ष उमेशलाल सहनी, सुरज गुप्ता, अवधेस यादव लगायतको सहभागिता रहेको थियो।

 

 

 

सम्बन्धित पोस्टहरुः