हेटौंडा र जनकपुरधाममा भारतीय शास्त्रीय ओडिसी नृत्य प्रस्तुत

पवन प्रसाद साह

 

वीरगंज । भारतको महावाणिज्य दूतावास, वीरगंज तथा भारतीय राजदूतावास, काठमाडौंको संयुक्त आयोजनामा भारतीय सांस्कृतिक सम्बन्ध परिषद् (ICCR), नयाँ दिल्लीको सहकार्यमा नेपालका विभिन्न सहरमा भारतीय शास्त्रीय ओडिसी नृत्य कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।

 

कार्यक्रमको उद्घाटन प्रमुख अतिथि तथा विशिष्ट अतिथिहरूद्वारा दीप प्रज्वलन गरी गरिएको थियो। स्वागत मन्तव्यमा भारतका महावाणिज्य दूत डी.एस. मीनाले नेपाल र भारतबीचको ऐतिहासिक, सामाजिक, सांस्कृतिक तथा धार्मिक सम्बन्धलाई अझ सुदृढ बनाउन यस्ता सांस्कृतिक कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले शास्त्रीय कला र सांस्कृतिक आदान–प्रदानले दुई देशका जनस्तरको सम्बन्ध मजबुत बनाउने धारणा व्यक्त गर्नुभयो।

डिसेम्बर १२, २०२५ मा हेटौंडास्थित भैरव रोडमा रहेको पूजा ब्याङ्क्वेटमा आयोजित कार्यक्रममा भारतबाट आमन्त्रित ख्यातिप्राप्त कलाकार समूहले ओडिसी नृत्य प्रस्तुत गरेका थिए। धार्मिक देवताहरूसँग सम्बन्धित भाव, भंगिमा र शास्त्रीय शैलीमा प्रस्तुत गरिएको नृत्यले दर्शकहरूलाई मन्त्रमुग्ध बनाएको थियो। कार्यक्रममा समाजका विभिन्न क्षेत्रका ४०० भन्दा बढी व्यक्तिहरूको उपस्थिति रहेको थियो। यसअघि डिसेम्बर १०, २०२५ मा जनकपुरधाममा पनि यस्तै सांस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो।

कार्यक्रममा मकवानपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) बसन्त अधिकारी प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। साथै जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सुवासचन्द्र बोहरा, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा. डा. प्रदीप ज्ञवाली, मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोद सिंह रानाभाट, कृषि उद्यम केन्द्रका अध्यक्ष अरुण राज सुमारगञ्जु लगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।

 

 

 

 

सम्बन्धित