एसडीएमद्वारा महिलाहरूको आत्मनिर्भरता लक्षित सेल्टर होम सह प्रशिक्षण केन्द्र उद्घाटन

अभिलाष गुप्ता

रक्सौल, २० मंसिर

 

स्वच्छ रक्सौल संस्थाद्वारा स्थापित महिला सेल्टर होम सह प्रशिक्षण केन्द्र को भव्य उद्घाटन सम्पन्न भएको छ। असहाय, पीडित तथा आर्थिक रूपले कमजोर महिलालाई सुरक्षित आश्रय, संरक्षण तथा सीप विकास प्रशिक्षण प्रदान गर्ने उद्देश्यले केन्द्र स्थापना गरिएको हो।

 

कार्यक्रमको उद्घाटन एसडीएम मनीष कुमार, एसएसबी इन्स्पेक्टर विकास कुमार, राजकीय रेल थानाध्यक्ष पवन कुमार, भाजपा महामन्त्री पार्वती तिवारी र लायन्स क्लब अध्यक्ष विमल सर्राफले संयुक्त रूपमा गरे।

 

आयोजक संस्थाका अनुसार सेल्टर होमको मुख्य उद्देश्य विभिन्न कारणले पीडित महिलालाई सुरक्षित वातावरणमा राखी सिलाइ–कटाइ, साना कुटिर उद्योग तथा अन्य सीपमूलक प्रशिक्षणमार्फत आत्मनिर्भर बनाउने रहेको छ।

 

समारोहलाई सम्बोधन गर्दै एसडीएम मनीष कुमारले स्वच्छ रक्सौलद्वारा सञ्चालित यो पहल अत्यन्तै सराहनीय भएको बताए। प्रशिक्षणमार्फत असहाय महिलाको जीवनस्तर उत्थानमा अनुमण्डल प्रशासनले निरन्तर सहयोग गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे। उनका अनुसार यस्तो केन्द्र सञ्चालनले सडकमा भौँतारिइरहेका वा परिवारद्वारा छोडिएका महिलालाई सम्मानजनक जीवन जिउने अवसर मिल्नेछ।

 

एसएसबी इन्स्पेक्टर विकास कुमारले निःशुल्क आश्रय, भोजन र सीप प्रशिक्षण उपलब्ध गराउनु महिलाको जीवन परिवर्तन गर्ने “जीवनदान समान कार्य” भएको बताए।

जीआरपी थानाध्यक्ष पवन कुमारले स्वच्छ रक्सौल संस्था विगतदेखि नै पीडित महिलाको उद्धार तथा लावारिस शवको अन्त्येष्टि जस्ता सामाजिक कार्यमा संलग्न रहँदै आएको उल्लेख गर्दै नवखोलिएको सेल्टर होम महिलाको आत्मनिर्भरता बढाउने महत्वपूर्ण माध्यम बन्ने बताए।

 

लायन्स क्लब अध्यक्ष विमल सर्राफ, भाजपा नेतृ पार्वती तिवारी तथा जदयू नेता एवं समाजसेवी सुरेश कुमारले पनि कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रलाई आवश्यक सहयोग प्रदान गर्ने घोषणा गरे।

 

कार्यक्रमका प्रमुख संचालक तथा स्वच्छ रक्सौलका अध्यक्ष रञ्जित सिंहले उपस्थित अतिथि तथा सहयोगीहरूलाई धन्यवाद ज्ञापन गर्दै मानसिकरूपले आहत रिहाना खातुन, रक्सौल रेल स्टेशनबाट उद्धार भएकी मरियम, ससुरालीजनबाट पीडित रेणु कुमारीलगायत धेरै महिलाको अवस्थाबारे जानकारी दिए। उनका अनुसार केन्द्रमा घरेलु हिंसा, सामाजिक उपेक्षा वा मानसिक तनावबाट पीडित महिलालाई सुरक्षित आश्रय, उपचार, परामर्श र सीप प्रशिक्षण प्रदान गरिनेछ। साथै, उनीहरूको परिवारसँग मेलमिलाप गराई समाजमा सम्मानजनक रूपमा पुनः स्थापित गर्न पनि सहयोग गरिनेछ।

 

कार्यक्रममा लायन्स क्लब अध्यक्ष विमल सर्राफ, सुरेश साह, पंकज रूंगटा, राजकुमार, अमलेश श्रीवास्तव, डा. विनोद कुमार, डा. मनीष कुमार, पार्वती तिवारी, कृष्ण आनन्द, फायर अफिसर पवन कुमारसहित धेरै व्यक्तिहरूको उपस्थिति रहेको थियो।

सम्बन्धित