अभिलाष गुप्ता
वीरगंज, २० मंसिर
सुनौलो बचत तथा ऋण सहकारी संस्थाको १५औं वार्षिक साधारणसभा शनिबार वीरगंजस्थित होटल कुमु प्यालेसमा भव्य रूपमा सम्पन्न भयो। कार्यक्रम संस्थाका अध्यक्ष सुरेश प्रसाद कोईरीको अध्यक्षता तथा जिल्ला बचत तथा ऋण सहकारी संघ, पर्साका अध्यक्ष हरेराम पटेलको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि पटेलले सहकारीमार्फत आर्थिक कारोबार गर्दा सदस्यहरू सतर्क र सचेत रहनुपर्नेमा जोड दिए। स्थानीय समुदायको स्वामित्वमा दिगो रूपमा सञ्चालित सहकारी नै सुरक्षित हुने उल्लेख गर्दै उनले लोभ–लालचका प्रलोभनपूर्ण योजनाबाट टाढा रहन आग्रह गरे।
हालै वीरगंजकै सानो पाइला बचत तथा ऋण सहकारीमा प्रलोभन देखाई गरिएको ठगी घटनालाई उदाहरण प्रस्तुत गर्दै उनले अवास्तविक प्रतिफल दिने योजनाहरू अत्यन्त जोखिमयुक्त हुने चेतावनी दिए। सहकारीहरूले कानुनतः १६ प्रतिशतभन्दा बढी ब्याजदर लिन नमिल्ने उनले प्रष्ट पार्दै, “त्यसभन्दा बढी ब्याज दिने प्रलोभन देखाउने सहकारीबारे जानकारी दिनुस्, कारबाही हुन्छ,” भन्दै सदस्यहरूलाई अपिल गरे।
उनका अनुसार देशभर रहेका करिब ३५ हजार सहकारीमध्ये केही सय सहकारीका अनियमितताका कारण सम्पूर्ण सहकारी क्षेत्र बदनाम हुने गरेको बताउँदै, सहकारीको विश्वसनीयता जोगाउन पारदर्शिता, सदाचार र नियमपालनलाई सर्वोच्च प्राथमिकता दिनुपर्ने धारणा व्यक्त गरे।
कार्यक्रममा लेखा समिति संयोजक कृष्णा प्रसाद साह सोनारले संस्थाको आय–व्यय प्रतिवेदन प्रस्तुत गरेका थिए। साधारणसभामा संस्थाका कर्मचारी, उत्कृष्ट ऋणी, लगानीकर्ता तथा बचतकर्तासहित करिब एक दर्जन व्यक्तित्वलाई सम्मान गरिएको थियो।
सो अवसरमा संस्थापक सदस्य संजय चौरसिया, पत्रकार राकेश साहलगायतले सहकारीको आगामी योजना तथा आवश्यक सुधारबारे आफ्नो मन्तव्य राखेका थिए। कार्यक्रममा उपाध्यक्ष प्रदिप कुशवाहा, सचिव रोशन कुमार यादव, कोषाध्यक्ष जितेन्द्र प्रसाद सिंह, सञ्चालक सदस्य रेखा कुमारी गुप्ता, उर्मिला देवी कुशवाहालगायत पदाधिकारी तथा सदस्यहरूको उपस्थिति थियो।
कार्यक्रमको सहजीकरण संस्थाका व्यवस्थापक रामजन्म प्रसाद महतोले गरेका थिए।









