काठमाडौं। अपाङ्ग दिवसको अवसरमा राष्ट्रिय स्वयं–सहायता तथा सहकारी समूह ललितपुरका राष्ट्रिय उपाध्यक्ष विजय पासवानले अपाङ्ग व्यक्तिहरूको सामाजिक सुरक्षालगायत सहुलियत सुविधामा उल्लेख्य सुधार आवश्यक रहेको बताएका छन्।
कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले प्रदान गरिएको मासिक भत्ता अपुरो रहेको भन्दै न्यूनतम १५ हजार रुपैयाँसम्म पुर्याउनुपर्ने आवश्यकता औंल्याए। साथै, अपाङ्गता भएका व्यक्तिहरूलाई आर्थिक रूपमा सक्षम बनाउन राज्यले अनिवार्य रोजगारी सुनिश्चित गर्ने नीति तत्काल लागू गर्नुपर्ने उनकाे भनाइ थियो।
पासवानले कुष्ठरोगका कारण अपाङ्ग भएका तथा अन्य कुनै पनि कारणले अपाङ्गता बोकेका व्यक्तिहरूका लागि अलग्गै तथा प्रभावकारी कार्यक्रम आवश्यक रहेको उल्लेख गर्दै उनीहरूको सम्मानजनक र सुखद जीवनयापनका लागि भत्ता वृद्धि अत्यावश्यक भएको बताए।
उनका अनुसार अपाङ्गता सम्बद्ध सेवाहरूलाई अधिकारका रूपमा व्यवहार गर्न राज्य, समुदाय र सबै सरोकारवालाहरूको सक्रियता जरूरी रहेको छ।









