पवन प्रसाद साह / वीरगंज
पर्सा जिल्लाको जिराभवनि गाउँपालिका वार्ड नं २, बेलवाटाडी टोलमा क्षयरोग दिवसको उपलक्ष्यमा सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। नेपाल क्षयरोग निवारण संस्था पर्सा शाखा द्वारा आयोजित क्षयरोगबारे जनचेतना अभिवृद्धि गर्नु तथा समुदायस्तरमा सतर्कता बढाउने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा स्थानीय बासिन्दाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा नेपाल क्षयरोग निवारण संस्था पर्सा शाखाका सचिव शम्भु प्रसाद चौरसिया तथा कोषाध्यक्ष उमेश साह कानु लगायतका प्रतिनिधिहरूले विगत सात वर्षदेखि क्षेत्रमै निरन्तर रूपमा क्षयरोगसम्बन्धी जनजागरण अभियान सञ्चालन गर्दै आएका छन।
उक्त आयोजित सचेतनामुलक कार्यक्रममा शाखाका सचिव चौरसियाले बेलवाटाडीका युवा रञ्जित यादवलाई विशेष सम्मान तथा प्रशंसापत्र प्रदान गरे। सचिव चौरसियाले यादवको सक्रियता, समर्पण र समुदाय सेवाप्रतिको प्रतिबद्धताको प्रशंसा गर्दै भविष्यमासमेत यिनै ऊर्जा र उत्साहका साथ काम जारी राख्ने विश्वास व्यक्त गरे।
कार्यक्रमका वक्ताहरूले क्षयरोगबाट बच्न आवश्यक सावधानी, लक्षण तथा उपचारका विषयमा विस्तृत जानकारी दिए। लगातार १५ दिनसम्म ज्वरो आउनु, खोकी नछुट्नु, भोक नलाग्नु, शारीरिक दुब्लोपन बढ्दै जानु, वजन घट्दै जानुजस्ता लक्षण देखिएमा क्षयरोगको शंका गर्नुपर्ने र तुरुन्त स्वास्थ्य संस्थामा जाँच गराउनुपर्ने जनाइएको थियो।
सचिव चौरसिया र कोषाध्यक्ष कानु दुवैले क्षयरोगको उपचार निःशुल्क उपलब्ध हुने भएकाले नजिकको स्वास्थ्य चौकी वा जिल्ला स्वास्थ्य कार्यालयमा सम्पर्क गर्न सबैलाई आग्रह गरे। समुदायमा स्वास्थ्य सजगता बढाउँदै क्षयरोगमुक्त समाज निर्माण गर्न सबैको भूमिका महत्वपूर्ण रहने कुरा पनि उनीहरूले जोड दिए।
कार्यक्रमले स्थानीय बासिन्दामा क्षयरोगबारे चेतना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्याएको सहभागीहरूले बताएका छन्।









