भारतको महावाणिज्य दूतावास,बीरगञ्जद्वारा भव्य गीता महोत्सव सम्पन्न

राहुल गुप्ता /बीरगञ्ज

भारतको महावाणिज्य दूतावास, बीरगञ्जद्वारा आयोजित गीता महोत्सव भव्य र उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ। सांस्कृतिक विविधता, आध्यात्मिकता र दुई देशबीचको मैत्री सम्बन्ध सुदृढ गर्ने उद्देश्यसहित गरिएको कार्यक्रम दूतावास परिसरमै आयोजना गरिएको थियो।

 

कार्यक्रमको अध्यक्षता भारतका महावाणिज्य दूत देवी सहाय मीनाले गर्नुभयो। उहाँले गीता महोत्सवले भगवद्गीता केवल धार्मिक ग्रन्थ मात्र होइन यो मानव जीवनलाई सही दिशा दिने एक सार्वभौमिक मार्गदर्शक हो। महाभारतको भीषण युद्धभूमिमा अर्जुन र भगवान् श्रीकृष्णबीच भएको संवादका रूपमा प्रस्तुत गीता आज पनि उस्तै सान्दर्भिक, जीवन्त र प्रेरणादायी रहेको छ। समय, भूगोल र संस्कृतिको सीमा नमान्ने गीता शाश्वत सत्य, कर्तव्य, नैतिकता र मानव धर्मका गहन सिद्धान्तहरूको जीवन्त पाठशाला हो।

 

गीता मानव जीवनका तीन प्रमुख आयाम कर्म, ज्ञान र भक्तिलाई समत्व र सदाचारसहित कसरी अगाडि बढाउने भन्ने स्पष्ट मार्गदर्शन दिन्छ। ‘निष्काम कर्म’ अर्थात् परिणामप्रतिको आसक्तिबिनाको कर्तव्यपालन गीता दर्शनको केन्द्रबिन्दु हो। यो शिक्षाले मनुष्यलाई आफ्नो दायित्व इमानदारीपूर्वक निर्वाह गर्न मात्र होइन, समाज तथा राष्ट्रप्रतिमा उत्तरदायी बन्न पनि प्रेरित गर्छ।

 

आजको भौतिक व्यस्तता, मानसिक तनाव र मूल्य विचारमा आएको क्षीणताका बीच भगवद्गीता मनलाई शान्त, व्यवहारलाई संयमित र सोचलाई सकारात्मक बनाउन अत्यन्त प्रभावकारी ग्रन्थ बनेको छ। यसले मानव जीवनलाई उच्च आदर्श, आत्मानुशासन र सहअस्तित्वको भावनासँग जोडेर विश्वमै शान्ति, सद्भाव र मानवताका सन्देश फैलाएको छ।

 

भारत–नेपालको सांस्कृतिक, ऐतिहासिक र आध्यात्मिक सम्बन्धको जरा अत्यन्त गहिरो छ, र गीता दुवै देशका जनमानसमा साझा आस्था तथा प्रेरणाको स्रोत बनेको छ। गीता महोत्सवजस्ता कार्यक्रमहरूले हाम्रो साझा सांस्कृतिक धरोहरलाई नयाँ पुस्तासम्म पु¥याउँदै द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउने महत्वपूर्ण भूमिका खेल्छन्।

 

भगवद्गीतामा निहित ज्ञान केवल पढ्नका लागि होइन, जीवनका हरेक मोडमा आत्मसात् गर्नका लागि हो। यही शाश्वत संदेशले मानवतामा प्रकाश फैलाउँदै हामी सबैलाई सत्य, कर्तव्य र नैतिकतापथमा दृढतापूर्वक अग्रसर बनाउँछ भन्ने विश्वास लिन्छु।

 

कार्यक्रमको सञ्चालन दूतावासका कन्सुल मनीष दासले कुशलतापूर्वक गर्नुभयो। साथै, भारतिय वाणिज्य दूत मनीष दासले कार्यक्रमको समन्वय र सहजीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।

 

दूतावासका अधिकारीहरू, स्थानीय सम्माननीय व्यक्तिहरू, विद्वान् तथा विभिन्न सामाजिक–सांस्कृतिक संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको कार्यक्रम विविध सांस्कृतिक प्रस्तुतिहरू र गीता सन्देशसम्बन्धी प्रवचनसहित सफलतापूर्वक सम्पन्न भएको दूतावासले जनाएको छ।

 

कार्यक्रमले भारत–नेपालबीचको सामाजिक, ऐतिहासिक र सांस्कृतिक सम्बन्धलाई अझ मजबुत बनाएको सहभागीहरूको अभिमत छ।

सम्बन्धित