वीरगंज । गरिमा विकास बैंक लिमिटेड, वीरगंज शाखाले आफ्नो १९औँ वार्षिकोत्सव अवसरमा विशेष रक्तदान कार्यक्रम आयोजना गर्दै वार्षिक उत्सव सम्पन्न गरेको छ। बैंकले हरेक वर्षझैं यस वर्ष पनि सामाजिक उत्तरदायित्वअन्तर्गत रक्तदान कार्यक्रम सञ्चालन गरेको जनाएको छ।
कार्यक्रमका प्रमुख अतिथि एफएनसीसीआई वीरगंजका नव–निर्वाचित अध्यक्ष अनिल कुमार अग्रवालले ब्यानरमा हस्ताक्षर गर्दै र केक काटेर कार्यक्रमको उद्घाटन गरे। स्वागत मन्तव्य प्रस्तुत गर्दै बैंकका वीरगंज शाखा प्रबन्धक राजीव कुमार झाले ग्राहकमैत्री सेवा, डिजिटल बैंकिङ विस्तार तथा सामाजिक उत्तरदायित्वका कार्यक्रमहरूलाई अझ प्रभावकारी रूपमा अघि बढाउने बैंकको योजनाबारे जानकारी दिए।
उनका अनुसार वार्षिकोत्सवको अवसरमा गरिएको रक्तदान कार्यक्रमले वित्तीय सेवासँगै समाजमा सकारात्मक सन्देश दिने तथा मानवसेवामा योगदान पुर्याउने उद्देश्य राखिएको छ। सोही क्रममा बैंकका मधेस प्रदेश प्रमुख दयाकान्त साहले बैंकलाई आजको स्थानमा पुर्याउन सहयोग गर्ने ग्राहक, साझेदार संस्था तथा आम नागरिकप्रति आभार व्यक्त गर्दै यस्ता सामाजिक योगदानका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाए।
रक्तदान कार्यक्रममा करिब ५० जना सहभागी भएका थिए। सहभागीमध्ये करिब ३० जना महिला र २० भन्दा बढी पुरुषले रक्तदान गरेका थिए। रक्तदाताहरूलाई प्रमुख अतिथि अग्रवालबाट प्रमाणपत्र प्रदान गरिएको थियो।
कार्यक्रमका विशिष्ट अतिथिहरूमा गरिमा विकास बैंक मधेस प्रदेश प्रमुख दयाकान्त साह, लायन्स क्लब इन्टरनेशनलका पास्ट डिस्ट्रिक्ट गभर्नर देवकी चन्द्र अग्रवाल उपस्थित थिए। अन्य अतिथिहरूमा नेपाल पत्राचार महासंघका पूर्व उपाध्यक्ष युराज खड्का, जीवनज्योति स्कूलका अध्यक्ष शिवकुमार गुप्ता, एन्जल वल्र्ड स्कूलका अध्यक्ष रामराज श्रेष्ठलगायतको सहभागिता रहेको थियो।
नेपाल रेडक्रस सोसाइटीतर्फबाट सौरभ राज पाण्डे तथा प्राविधिक लिलाधर साह उपस्थित थिए। कार्यक्रमको अध्यक्षता गरिमा विकास बैंक वीरगञ्ज शाखाका प्रबन्धक राजिव कुमार झाले गरेका थिए भने सञ्चालन बैंकका क्रेडिट इन्चार्ज चन्दन साहले गरेका थिए।









