पवन प्रसाद साह
वीरगंज, पर्सा
भारतको बिहारमा हालै सम्पन्न विधानसभा निर्वाचनमा कानु समाजले अभूतपूर्व सफलता हासिल गरेको छ। विभिन्न क्षेत्रमा समुदायका नेताहरू विजयी भएपछि केवल राजनीतिक परिवेशमा मात्र होइन, कानु समाजभित्र पनि उत्साह, गर्व र एकताको नयाँ ऊर्जा फैलिएको छ।
बिभिन्न पार्टीबाट कानु समाजलाई दिएको ६ सिटमा ६ वटै सिटमा ऐतिहासिक जीत दर्ता गर्दै समुदायले आफ्नो सशक्त राजनीतिक उपस्थितिको संकेत दिएको छ।
कुढ़नी क्षेत्रका मतदाताहरूले आफ्ना लोकप्रिय विधायक तथा मन्त्रीप्रति पुनः भरोसा व्यक्त गर्दै विजयी बनाउनु समुदायप्रतिको विश्वासको स्पष्ट प्रमाण मानिएको छ। यस अवसरमा सबै मतदाताहरू तथा माननीय केदार प्रसाद गुप्ता प्रति हार्दिक धन्यवाद र बधाई प्रदान गरिएको छ।
छपरा क्षेत्रमा कानु समाजकी छोरी छोटी कुमारीले चर्चित भोजपुरी कलाकार तथा उम्मेदवार खेसारी लाल यादवलाई हराउँदै चर्चाको शिखरमा पुगेकी छन्। उनको विजयले महिला नेतृत्वको प्रभावशाली उपस्थितिलाई मात्र होइन, कानु समाजको राजनीतिक क्षमतालाई पनि मजबुत रूपमा उजागर गरेको छ।
बिहारका “शेर” भनेर चिनिने राधाचरण साह सेठ पनि यस पटक विजयी हुन सफल भएका छन्। उनको जीतले कानु समुदायको सम्मान र पहिचानलाई अझ उचाइमा पुर्याएको समुदायका अगुवाहरू बताउँछन्।
त्यस्तै, मोतिहारी क्षेत्रबाट प्रमोद गुप्ता लगातार छैटौं पटक विजयी हुँदै आफ्नो स्थायी जनसमर्थनलाई पुनः प्रमाणित गरेका छन्। स्थानीय राजनीति क्षेत्रमा कानु समाजको प्रभाव निरन्तर सुदृढ भइरहेको संकेत उनकाे जीतले दिएको छ।
बख्तियारपुरबाट अरुण शाह र लौकाहा क्षेत्रबाट सतीश साह विजयी भएपछि ती क्षेत्रका कानु समुदायमा विजयोल्लास छाएको छ। दुबै नेताहरूले मतदाताहरू प्रति आभार प्रकट गर्दै समुदायले पठाएका शुभकामनाहरू स्वीकृत गरेका छन्।
नेपालको वीरगंजमा बसोबास गर्ने कानु समुदायका युवा पवन प्रसाद साहले “जय कानु समाज” भन्दै सबै विजेता नेताहरूलाई हार्दिक बधाई दिएका छन्। यसले नेपाल–भारतबीचको कानु समुदायको सम्बन्ध र आत्मीयता अझ प्रगाढ भएको अनुभूति गराएको छ।
कानु समाजको यो ऐतिहासिक सफलता समुदायको राजनीतिक जागरण, एकता र निरन्तर संघर्षको प्रतिफलका रूपमा हेरिएको छ।







