मधेस प्रदेशमा सरकार गठनका लागि आह्वान गर्न आग्रह

पवन साह Avatar
मधेस प्रदेशमा सरकार गठनका लागि आह्वान गर्न आग्रह
जनकपुरधाम, २३ कात्तिकः नेपाली कांग्रेससहित सात दलले मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार गठनका लागि आह्वान गर्न आग्रह गरेको छ ।
प्रदेश प्रमुख कार्यालयमा आज कांग्रेस, जसपा नेपाल, जनमत, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), लोसपा, नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्तिका दलका नेता तथा सांसदहरुले नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार गठनका लागि आह्वान गर्न आग्रह गरेको हो ।
निवर्तमान मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनार ‘सोनल’ले कांग्रेसहित सात दलको ८० भन्दा बढी सांसद बहुमत सरकारको पक्षमा रहेकाले उपधारा २ बमोजिम नै सरकार गठनका लागि आग्रह गरिएको बताउनुभयो ।
प्रदेश प्रमुख भण्डारीले यो विषयलाई अत्यन्त गम्भीरतापूर्वक लिएको बताउनुभयो । “यो विषयलाई प्रदेश प्रमुखले अत्यन्त गम्भीरतापूर्वक र सकारात्मक रुपमा लिनुभएको छ । दलहरुको सहमतिका आधारमा संविधानको मर्म र भावनाअनुसार नै हामी निर्णयमा पुग्छौँ,” प्रदेश प्रमुखको जवाफ निवर्तमान मुख्यमन्त्री सोनलले सुनाउनुभयो ।
मधेस प्रदेशसभामा हाल कांग्रेसका २२, जसपाका १८, जनमतका १३, माओवादी केन्द्रका नौ, लोसपाका आठ, एकीकृत समाजवादीका सात र नागरिक उन्मुक्तिका एक प्रदेशसभा सदस्य छन् ।
मधेसमा गत असोज २९ मा ६ दलको समर्थनमा मुख्यमन्त्री बनेका लोसपा नेता सोनल विश्वासको मत नपाउने देखेपछि सदनमै राजीनामा दिनुभएको थियो । उहाँको राजीनामा स्वीकृत भइसकेको छ । प्रदेश प्रमुखले अहिलेसम्म नयाँ सरकार गठनका लागि आह्वान गर्नुभएको छैन ।