,

कटहरिया बहुमुखी क्याम्पसको विवाद सर्वपक्षीय छलफलबाट अन्ततः समाधान

पवन साह Avatar
कटहरिया बहुमुखी क्याम्पसको विवाद सर्वपक्षीय छलफलबाट अन्ततः समाधान

✍️ दिपेश कुमार शाह , रौतहट

 

रौतहट । रौतहटको कटहरिया नगरपालिका–स्थित बहुमुखी क्याम्पसमा करिब एक महिनादेखि जारी विवाद शनिबार सर्वपक्षीय छलफलबाट अन्ततः समाधान भएको छ।

स्थानीय भद्रभलादमी, जनप्रतिनिधि र प्रहरी प्रशासनको समन्वयात्मक प्रयासपछि क्याम्पसमा देखिएको तनाव अन्त्य भएको हो।

 

गत महिना स्थानीय जेन–जी उमेर समूहका युवाहरूले क्याम्पस प्रमुख गजेन्द्र यादव र लेखापाल रामनिवेश यादवमाथि आर्थिक अनियमितताको आरोप लगाउँदै निरन्तर विरोध प्रदर्शन गर्दै आएका थिए।उनीहरूले क्याम्पसमा भएको आय–व्ययको विवरण सार्वजनिक गर्न माग गर्दै दुवै जनाको राजीनामाको माग पनि गरेका थिए।युवाहरूको आरोप थियो कि क्याम्पसमा आर्थिक पारदर्शिता छैन र क्याम्पसको आम्दानी–खर्चबारे विद्यार्थी, अभिभावक तथा सरोकारवालाहरूलाई पर्याप्त जानकारी दिइँदैन।

 

यही विषयलाई लिएर क्याम्पसमा पटक–पटक भनाभन, आक्रोश र तनावपूर्ण स्थिति सिर्जना भएको थियो।

केही दिनअघि त स्थानीय युवाहरूले क्याम्पसमा तालाबन्दीको चेतावनी समेत दिएका थिए।

 

 

यी सबै घटनाक्रमपछि शनिबार क्याम्पस परिसरमै सर्वपक्षीय भेला तथा छलफल आयोजना गरिएको थियो।

छलफलमा नगरपालिकाका वडाध्यक्षहरू, स्थानीय भद्रभलादमी, अभिभावक, प्रहरी प्रतिनिधि, सञ्चारकर्मी, शिक्षक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

 

छलफलको प्रारम्भमा विरोध समूहका प्रतिनिधिहरूले आफ्ना मागहरू प्रस्तुत गरे भने क्याम्पस प्रमुख गजेन्द्र यादवले आरोपहरू निराधार रहेको प्रष्ट पार्दै क्याम्पसको आर्थिक गतिविधि पारदर्शी रहेको दाबी गरे।

उनले भने,क्याम्पस सार्वजनिक संस्थान हो। हामीले आर्थिक हिसाब–किताब लेखा परीक्षण गरी नै अघि बढाएका छौं। भ्रम फैलाउने प्रयास गरिएको छ, तर अब हामी सबै विवरण सार्वजनिक गरेर पारदर्शिता देखाउनेछौं।

 

छलफलमा उपस्थित स्थानीय भद्रभलादमी र वडाध्यक्षहरूले दुवै पक्षलाई संयमित रहन र समस्या संवादमार्फत समाधान गर्न आग्रह गरे।विस्तृत छलफलपछि अन्ततः सर्वसम्मत निष्कर्ष निस्कियो—“बिना प्रमाणका आधारमा राजीनामा माग्नु अनुचित हो, तर पारदर्शिता सुनिश्चित गर्न सबै आर्थिक विवरण वेबसाइटमा राखिनेछ।

 

छलफलबाट क्याम्पसले गत आर्थिक वर्षदेखि हालसम्मको सम्पूर्ण आय–व्यय विवरण आधिकारिक वेबसाइटमार्फत सार्वजनिक गर्ने निर्णय गरेको छ।क्याम्पस प्रमुख यादवका अनुसार, सो विवरणमा कसैलाई शंका वा असन्तुष्टि भएमा उनीहरूले प्रत्यक्ष क्याम्पसमा आएर दस्तावेज हेर्न सक्ने व्यवस्था पनि मिलाइएको छ।

 

अभिभावक, प्रहरी र व्यवस्थापन समितिको सहमतिमा हामीले पारदर्शिताको नीति अवलम्बन गर्दै सबै आर्थिक विवरण वेबसाइटमा राख्ने निर्णय गरेका छौं। अब कुनै भ्रम वा विवादको अवस्था रहने छैन।

 

 

यस सहमतिले लामो समयदेखि तानातानमा रहेको विषयलाई पूर्णरूपमा समाधान गरेको बताइएको छ।शनिबार सिमसिमे वर्षा भइरहेको अवस्थामासमेत छलफलमा ५०० भन्दा बढी स्थानीयको उपस्थिति रहेको थियो।

 

छलफलको क्रममा प्रारम्भमा केही तर्क–वितर्क भए पनि अभिभावक, प्रहरी र स्थानीय अगुवाहरूको हस्तक्षेपपछि वातावरण शान्त र मर्यादित बनाइएको थियो।

 

गत केही दिनयता क्याम्पस परिसरमा पटक–पटक विवाद र झडपको स्थिति देखिएकोले शनिबारको भेलालाई विशेष सुरक्षा व्यवस्था गरिएको थियो।ईलाका प्रहरी कार्यालय बिजयपुर र कटहरियाबाट प्रहरी टोली खटाइएको थियो।

 

ईलाका प्रहरी कार्यालय बिजयपुरका प्रमुख इन्स्पेक्टर सुरेन्द्र यादव र कटहरियाका सई धर्मेन्द्र पौडेल छलफल स्थलमै उपस्थित थिए।

 

 

छलफलमा कटहरिया वडा नं. ४ का अध्यक्ष चन्दन कुशवाहा, वडा नं. ५ का अध्यक्ष सर्फलाल गुप्ता, वडा नं. ९ का अध्यक्ष रुपेश यादव, पूर्व मेयर सियाराम कुशवाहा, समितिका अध्यक्ष रामआधार यादव, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, अभिभावक, शिक्षक तथा सञ्चारकर्मीहरूको सक्रिय सहभागिता रहेको थियो।

 

वडाध्यक्ष चन्दन कुशवाहाले भने,क्याम्पस हाम्रो गौरव हो। यसलाई विवादको माध्यम बनाउनु हुँदैन। पारदर्शिताको प्रतिबद्धता स्वागतयोग्य छ र अब क्याम्पसमा एकता र सुधारका कदम बढ्ने अपेक्षा गरिएको छ।त्यस्तै, पूर्व मेयर सियाराम कुशवाहाले युवाहरूको सरोकारलाई सही दिशामा लैजान आग्रह गर्दै भने,युवाहरूको आवाज सुन्नु जरुरी छ, तर त्यसलाई संयमित र रचनात्मक बनाउनु पनि उतिकै महत्वपूर्ण छ। सहमतिले क्याम्पसमा शान्ति फर्कियो

 

छलफलको अन्त्यमा सबै पक्षले क्याम्पसलाई पारदर्शिता र जिम्मेवारीको नयाँ अभ्यासको केन्द्र बनाउने प्रतिज्ञा गरेका थिए।

सहमति पश्चात् झण्डै एक महिनादेखि तानातानमा रहेको क्याम्पसमा शान्ति र सहकार्यको वातावरण फर्किएको छ।अन्ततः सहमति भयो भन्ने खबरले हामीलाई राहत दियो। अब पढाइ–लेखाइ नियमित रूपमा चलोस्, यही हाम्रो चाहना हो।

 

सर्वपक्षीय छलफलले कटहरिया बहुमुखी क्याम्पसलाई पुनः शिक्षाको केन्द्रमा केन्द्रित गराउने र विद्यार्थीको भविष्य सुरक्षित गर्ने अपेक्षा स्थानीयहरूले व्यक्त गरेका छन्।

 

क्याम्पस विवाद करिब एक महिनापछि समाधान।आर्थिक अनियमितताको आरोपबारे छलफल, प्रमाण अभावमा अस्वीकार।आय–व्यय विवरण वेबसाइटमार्फत सार्वजनिक गर्ने सहमति।५०० भन्दा बढी स्थानीयको सहभागिता।प्रहरी, जनप्रतिनिधि र भद्रभलादमीको सक्रिय भूमिका।सहमतिपश्चात् क्याम्पसमा शान्ति र विश्वासको वातावरण बनेको थियो।