अभिलाष गुप्ता
बीरगंज, १६ कार्तिक
बीरगंज महानगरपालिकाको कार्यालय, सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हे.क्वाटर वीरगंज, र ग्रिन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरको संयुक्त आयोजनामा “हरियो, स्वच्छ र आकर्षक बीरगंज” अभियानको भव्य शुभारम्भ गरिएको छ।
उक्त अभियानमा महानगरपालिकाको डोजर प्रयोग गरी मितेरी पुल आसपासको क्षेत्रमा बृहत सरसफाइ कार्य सञ्चालन गरिएको थियो। फोहोर व्यवस्थापन, सडक छेउका झाडी हटाउने तथा हरियाली विस्तारका कार्यसमेत सम्पन्न गरिएको छ।
कार्यक्रमका अध्यक्ष जय प्रकाश खेतानले भने, बीरगंज नेपालको प्रवेशद्वार हो। यहाँ दैनिक हजारौँ भारतीय पर्यटक र व्यापारीहरू आउँछन्। त्यसैले सहरको सौन्दर्य, सरसफाइ र हरियालीले बीरगंजको पहिचान झल्काउनुपर्छ।उनले थपे, भन्सार क्षेत्रको सौन्दर्यकरण र व्यवस्थापन हाम्रो प्राथमिकता हो। भारतबाट आउने पाहुनालाई आकर्षित गर्न सहरलाई सुन्दर बनाउनु अत्यावशयक रहेको बताए।
आज आइतवार बिहान बीरगंज महानगरपालिका–१६ मितेरी पुल क्षेत्रबाट सुरु गरिएको अभियानको प्रमुख उद्देश्य बीरगंजलाई हरियालीयुक्त, प्रदूषणमुक्त र पर्यटनमैत्री सहरको रूपमा विकास गर्नु रहेको आयोजकले बताएका छन्।
कार्यक्रमको अध्यक्षता ग्रिन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जय प्रकाश खेतानले गर्नुभयो। कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल नं. १३ गणका एसपी पुरनचन्द्र भट्ट, बीरगंज भन्सार कार्यालयका डिएसपी पुरुषोत्तम भण्डारी, सशस्त्र प्रहरीको टोली, नगर प्रहरी, बीरगंज महानगरपालिकाका पदाधिकारीहरू, सामुदायिक प्रहरीका प्रतिनिधि तथा स्थानीय सरोकारवाला विशिष्ट व्यक्तिहरूको सहभागिता रहेको थियो।









