अभिलाष गुप्ता
बिरगंज ०९ कार्तिक
बिरगंज महानगरपालिकाका नगर प्रमुख मेयर राजेशमान सिंहले आज महानगर क्षेत्रभित्रका विभिन्न छठघाटहरूको स्थलगत अनुगमन गरेका छन्। उनले घडिअर्वा पोखरी छठघाट, रानीघाट छठघाट,माईधिया पोखरी छठघाट, श्रीपुर पोखरी छठघाट, र आदर्शनगरस्थित स्वीमिङ पुल छठघाट लगायतका प्रमुख स्थलहरूमा पुगेर तयारी अवस्थाको अवलोकन गरेका हुन्।
अनुगमनका क्रममा मेयर सिंहले प्रत्येक घाटमा भइरहेको सफा–सफाइ, सुरक्षा, प्रकाश व्यवस्था, आवत–जावतको सहजता र सरोकारवालाको समन्वय सम्बन्धी कार्यहरूबारे जानकारी लिँदै आवश्यक निर्देशन दिएका थिए। उनले कमजोरीहरू तत्काल सुधार गर्न, सुरक्षामा विशेष ध्यान दिन तथा सर्वसाधारणले सहज र सुरक्षित वातावरणमा पूजा गर्न सक्ने व्यवस्था मिलाउन सम्बन्धित अधिकारीहरूलाई निर्देशन दिएका छन्।
मेयर राजेशमान सिंहका भनाइ अनुसार छठ हाम्रो आस्था, संस्कृति र पहिचानको पर्व हो। यस पर्वमा जनताको सुरक्षालाई सर्वोच्च प्राथमिकता दिइनेछ। कुनै पनि घाटमा समस्या नहोस् भन्ने उद्देश्यले महानगरले सबै तयारी पूरा गरेको छ। जनताको विश्वास र सहजीकरण नै हाम्रो मुख्य जिम्मेवारी हो।
उनका अनुसार, महानगरले सबै छठघाटहरूमा प्रकाश, सरसफाइ, स्वास्थ्य तथा ट्राफिक व्यवस्थापनका लागि विशेष टिम खटाएको छ र सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ।





 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 





