वीरगंज/ रोगको रोकथाम र नियन्त्रणका लागि सञ्चालन हुन लागेको खोप अभियानलाई प्रभावकारी बनाउन जिल्ला स्वास्थ्य कार्यालय पर्साले पर्सा जिल्लाका सञ्चारकर्मीहरूलाई लक्षित अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रम नेपाल पत्रकार महासंघ पर्साका सचिव विजय चौहानको अध्यक्षतामा र विश्व स्वास्थ्य संगठन (WHO) का डा. पवन उपाध्यायको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा जिल्लाका विभिन्न सञ्चारमाध्यमका पत्रकारको सक्रिय सहभागिता रहेको थियो।
कार्यक्रमका प्रमुख अतिथि डा. पवन उपाध्याय ले जानकारी दिँदै भन्नुभयो कि हैजा रोगको रोकथाम र नियन्त्रणका लागि नेपालमा Euvichol–S नामक दस लाख अठार हजार एक सय (१०,१८,१००) डोज हैजा विरुद्धको खोप उपलब्ध भइसकेको छ। उहाँका अनुसार, १ वर्षदेखि माथि उमेरका सबैले यो खोप लिन सक्ने बताए । मुखबाट सेवन गरेर लिन सकिने यो खोप १ वर्षसम्म ८० प्रतिशत प्रभावकारी रूपमा काम गर्छ र एक वर्षसम्म हैजाको जोखिम अत्यन्त कम हुन्छ।
डा. उपाध्यायले थप भन्नुभयो, “खोप अभियानसँगै सफा र स्वास्थ्यकर खानेपानी पिउनु, सरसफाइमा ध्यान दिनु र व्यक्तिगत स्वच्छता अपनाउनु हैजा नियन्त्रणको मुख्य उपाय हो।”
त्यस्तै, जिल्ला स्वास्थ्य कार्यालय पर्साका अधिकृत जयमोद ठाकुर ले जिल्लामा सञ्चालन हुन लागेको खोप अभियानका बारेमा जानकारी दिँदै भने खोप अभियानमा पर्सा जिल्लामा ६ लाख ५२ हजार १ सय २९ जनालाई यो खोप दिने लक्ष्य रहेको उनले बताए ।
असोज २६ आइतबार देखि कात्तिक २ गते आइतबार सम्म पर्सामा १४ वटै पालिकामा एकैसाथ हैजाविरुद्धकाे खाेप अभियान सञ्चालन गरिँदैछ । साथै पर्सासँग जोडिएको बाराका कलैया र जीतपुरसिमरा उपमहानगरपालिका, परवानीपुर, प्रसौनी, फेटा र बिश्रामपुर गाउँपालिका गरी ६ वटा पालिमा पनि खाेप अभियान सञ्चालन गर्न लागिएको ठाकुरले बताए ।
स्वास्थ्य कार्यालय पर्साका अधिकृत जयमोद ठाकुरले आइतबार जिल्ला प्रशासन कार्यालय पर्सामा औपचारिक रुपमा प्रमुख जिल्ला अधिकारीसहित उच्च पदस्थ सरकारी अधिकारीहरुसमेत गरी करिब २ सय ५० जनाले यो खोप लिएर खाेप अभियानकाे उद्घाटन गर्ने बताए।









