,

सुकुम्बासी परिवारमा गहिरो पीडा : स्वास्थ्य उपचार अभावमा हरेसी मण्डलको निधन, समाजिक सहयोगबाट अन्त्येष्टि सम्पन्न

पवन साह Avatar
सुकुम्बासी परिवारमा गहिरो पीडा : स्वास्थ्य उपचार अभावमा हरेसी मण्डलको निधन, समाजिक सहयोगबाट अन्त्येष्टि सम्पन्न

 

दिपेश रौतहट, असोज २५ गते

रौतहट जिल्लाको गरुडा नगरपालिका–५, महम्मदपुरमा बसोबास गर्दै आएको एक सुकुम्बासी परिवार अहिले गहिरो शोक र संकटमा डुबेको छ । १३ दिनअघि परिवारका मुखिया ४२ वर्षीय हरेसी मण्डलको असामयिक निधन भएपछि गाउँभरि शोकको छायाँ छाएको छ ।

हरेसी मण्डल सामान्य ज्वरोबाट पीडित थिए, तर उपचारका लागि आवश्यक खर्च अभावका कारण समयमा स्वास्थ्य सेवा लिन सकेनन् । मलंगवा लैजाने क्रममा बाटोमै उनको निधन भएको परिवारजनले बताएका छन् ।

मण्डल पाँच सदस्यीय परिवारका एक मात्र कमाउने व्यक्ति थिए । उनका तीन सन्तान — १५ वर्षीया छोरी, १२ र ९ वर्षका छोरा — अहिले आमासँग अत्यन्त कठिन जीवनयापन गरिरहेका छन् । आर्थिक अभावका कारण मृत्युपछि धर्मअनुसारका विधिहरू पूरा गर्नसमेत परिवार असमर्थ भएको अवस्थामा स्थानीय समाजिक अभियन्ता शैलेन्द्र यादव अगाडि आएका छन् ।

यादवले सामाजिक सञ्जालमार्फत सहयोगको अभियान चलाउँदै १२ दिनभित्र रु. १ लाख ५० हजार ६४० संकलन गर्न सफल भएका छन् । सो रकमबाट अन्त्येष्टि र काजकिरिया सम्पन्न गर्नका साथै मृतकले लिएको कर्जा पनि तिरिएको यादवले जानकारी दिएका छन् ।

तर, संकट यहीँ समाप्त भएको छैन । परिवार हाल ४ धुर पराइ जमिनमा बसोबास गर्दै आएको छ, जुन अन्य व्यक्तिको नाममा दर्ता भएको बताइन्छ । सो जमिन परिवारको नाममा फिर्ता गराउन यादवको पहलमा कानुनी प्रक्रिया अघि बढिरहेको छ ।

यादवले स्थानीय समुदाय र सम्बन्धित निकायलाई सहयोगको अपिल गर्दै भने,

> “यो परिवार अझै गहिरो संकटमा छ । स्थायी आवास, बालबालिकाको शिक्षा र जीविकोपार्जनका लागि थप सहयोग आवश्यक छ । सबैले मानवीय दृष्टिले हात अगाडि बढाऔँ।”

यस घटनाले स्वास्थ्य उपचारमा पहुँच नहुने सुकुम्बासी समुदायका समस्याहरूलाई पुनः उजागर गरेको छ । कानुन अनुसार प्रत्येक नागरिकलाई स्वास्थ्य सेवा र आवासको हक सुनिश्चित गरिनुपर्ने संवैधानिक प्रावधान भए पनि यस्ता घटनाले त्यसको कार्यान्वयनमा गम्भीर प्रश्न उठाएको छ ।

विश्लेषकहरूका अनुसार, सरकारले सुकुम्बासी र विपन्न वर्गका लागि दीर्घकालीन योजना, निःशुल्क उपचार सुविधा र आवासीय अधिकार सुनिश्चित गर्न तुरुन्त कदम चाल्न जरुरी छ ।