दिपेश कुमार शाह /रौतहट, २३ गते ।
रौतहटको कटहरिया नगरपालिकामा कार्यरत करार कर्मचारीहरूले लामो समयदेखि तलब नपाएको विरोधमा कार्यालय परिसरमै धर्ना सुरु गरेका छन्।
कर्मचारीहरूले भनेका छन् जबसम्म बाँकी तलब मिल्दैन, तबसम्म तल्ला खुल्दैन !”
कर्मचारीहरूको धर्नामा वडा नं. १ का अध्यक्ष भुपेन्द्र महतो, वडा नं. ४ का अध्यक्ष चन्दन कुशवाहा, जनप्रतिनिधिवडा अध्यक्ष समिस शाह र सदस्य तथा कर्बहक अध्यक्ष दिलिप यादव लगायत स्थानीय जनप्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति थियो।
उनीहरूले करार कर्मचारीहरूको आन्दोलनलाई समर्थन जनाउँदै तत्काल समस्याको समाधान गर्न नगर प्रमुख र प्रशासनलाई आग्रह गरेका छन्।
आन्दोलनरत कर्मचारीहरूले आरोप लगाएका छन् —
“हाम्रो पसिना खाएर नगरपालिका मौन बस्न पाउँदैन। अब हाम्रो हक अधिकारका लागि हामी सडकदेखि कार्यालयसम्म लड्नेछौं।
धर्नाका कारण नगरपालिकाको दैनिक कामकाज प्रभावित बनेको छ।कर्मचारीहरूले भनेका छन्, “तलब हाम्रो अधिकार हो, दया होइन। अब ढिलाइ भए आन्दोलन अझ व्यापक हुनेछ।यसैबीच, कटहरिया नगर प्रमुख अजय प्रकाश जैसवालले हाकिम र प्रशासनमाथि गम्भीर आरोप लगाउँदै भनेका छन्
हरेक वर्ष ५, ६, ७, ८ र १० करोड रुपैयाँसम्मको बजेट केन्द्रबाट पास हुन्छ, तर त्यो रकम कहाँ जान्छ भन्ने स्पष्ट छैन। हाकिमहरू जिम्मेवार हुनुपर्छ।
उनले थप भने, केन्द्रबाट पास भएका करार कर्मचारीलाई हटाउने काम गरिँदैछ। यस्तो गैरकानुनी निर्णयका कारण तलब दिनुपर्ने अवस्था नै बाँकी छैन।”
कटहरिया नगरपालिकामा हाल स्थायी सभाभवन नहुँदा श्री जनता माध्यमिक विद्यालयमा अस्थायी रूपमा मिटिङहरू हुँदै आएका छन्।तर हालको परिस्थितिमा करार कर्मचारीको आन्दोलन र आन्तरिक व्यवस्थापकीय विवादका कारण नगरपालिकाभित्र गम्भीर अस्थिरता देखिएको छ।
कर्मचारीहरूले पनि नगर नेतृत्वमाथि पारदर्शिताको अभाव देखाउँदै भनेका छन् “हामीले कहिल्यै समयमा तलब पाएका छैनौं, तर मिडियामा भने प्रगति देखाउने खेल मात्र हुन्छ। नगरको वास्तविकता अर्कै छ।
धर्ना प्रदर्शनले स्थानीय प्रशासन र नगर नेतृत्वबीच विश्वासको संकट बढाएको छ।
नागरिकहरूले समेत प्रदेश र संघीय सरकारलाई माग गरेका छन् कि,कटहरिया नगरपालिकाको वित्तीय अनियमितता र कर्मचारी शोषणमा तत्काल छानबिन होस्।









