,

पूर्वराजा ज्ञानेन्द्रबाट विजयादशमीको शुभकामना : “सत्य, स्वाभिमान र ऐक्यबद्धताको बाटो अवलम्बन गर्नुपर्छ”

पवन साह Avatar
पूर्वराजा ज्ञानेन्द्रबाट विजयादशमीको शुभकामना : “सत्य, स्वाभिमान र ऐक्यबद्धताको बाटो अवलम्बन गर्नुपर्छ”

 

काठमाडौं, असोज १२ –

पूर्वराजा ज्ञानेन्द्र शाहले विजयादशमी 2082 को अवसरमा नेपाली जनताप्रति शुभकामना व्यक्त गर्दै सत्य, स्वाभिमान, ऐक्यबद्धता र राष्ट्रिय हितको बाटो अवलम्बन गर्न सबैलाई आह्वान गरेका छन्।

निजी निवास महाराजगञ्जबाट जारी शुभकामना सन्देशमा उनले दशैंलाई नेपालीको राष्ट्रिय चाडका रूपमा स्मरण गर्दै सबैमा सुख, शान्ति र समृद्धिको कामना गरेका छन्।

उनले नेपालको ऐतिहासिक ऐक्यबद्धता, सार्वभौमिकता र स्वतन्त्रतालाई कायम राख्न पुराना पुस्ताले गरेको त्याग र बलिदानको चर्चा गर्दै वर्तमान पुस्ताले पनि त्यसै मार्गलाई निरन्तरता दिनुपर्ने आवश्यकता औंल्याएका छन्।

शाहले हाल देशले भोगिरहेको अवस्था प्रति चिन्ता व्यक्त गर्दै राजनीतिक, सामाजिक र राष्ट्रिय मूल्यमा सुधारको आवश्यकता रहेको बताएका छन्। उनले नयाँ पुस्तामा राष्ट्रिय भावना, पहिचान र समर्पण जागृत हुनुपर्नेमा जोड दिएका छन्।

“सही, सत्य र अटल राष्ट्रिय सोचले मात्र हाम्रो भविष्य उज्यालो हुन्छ,” सन्देशमा भनिएको छ, “जे भयो, जे भइरहेको छ र जे हुनेछ, त्यो सबै राष्ट्रहितमा अघि बढोस भन्ने हाम्रो चाहना हो।”

शाहले नेपाली समाजमा बिगतको ऐतिहासिक मूल्य र आधुनिक सोच दुवैलाई सन्तुलन गर्दै अघि बढ्नुपर्ने र विजयादशमीले दिएको सन्देशलाई आत्मसात गर्नुपर्नेमा जोड दिएका छन्।