सामाजिक सञ्जाल बन्दविरूद्ध प्रदर्शन गर्ने पाँच जना पक्राउ

admin Avatar
सामाजिक सञ्जाल बन्दविरूद्ध प्रदर्शन गर्ने पाँच जना पक्राउ
काठमाडौं, २१ भदौ । सामाजिक सञ्जालमाथिको प्रतिबन्धको विरोधमा काठमाडौंको नयाँ बानेश्वरमा गरिएको शान्तिपूर्ण प्रदर्शनबाट पाँच जना युवाहरू पक्राउ परेका छन् ।
अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र अगाडि ‘युथ कंग्रेस नेपाल’ले आयोजना गरेको सांकेतिक प्रदर्शनका क्रममा उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेहरूमा संस्थाका महामन्त्री प्रभात कुमार ठाकुर, कोषाध्यक्ष विराज अर्याल, केन्द्रीय सदस्यहरू सुजनराज गिरी र धिरज सञ्जेल, साथै सदस्य आशिष शर्मा रहेका छन।
उनीहरू मुखमा मास्क र कालो टेप लगाएर सांकेतिक रूपमा सामाजिक सञ्जाल प्रतिबन्धको विरोधमा उत्रिएका थिए।
युवाहरूको संस्थाले सामाजिक सञ्जालमाथि गरिएको प्रतिबन्ध अभिव्यक्ति स्वतन्त्रता र लोकतन्त्रविरूद्धको कदम भएको बताउँदै त्यसको विरोधमा देशभर अभियान चलाउने चेतावनीसमेत दिएको छ। संस्थाले पक्राउ परेका सबै सदस्यहरूको बिना शर्त रिहाइको माग गर्दै एक विज्ञप्ति जारी गर्दै भनेको छ, “भविष्यमा यस्ता शान्तिपूर्ण आन्दोलनलाई गैर–लोकतान्त्रिक शैलीमा रोक्ने प्रयास नगर्न सम्बद्ध सबै पक्षलाई सचेत गराउन चाहन्छौं।”
युथ कंग्रेस नेपालले सामाजिक सञ्जाल नागरिकको अभिव्यक्ति स्वतन्त्रताको माध्यम भएको उल्लेख गर्दै, सरकारले प्रतिगामी नीति अपनाएको आरोप लगाएको छ।